बैंकमा कोरोना असर : अधिकांश बैंकको नाफा घट्यो (कुन बैंकको कति?)

बैंकमा कोरोना असर : अधिकांश बैंकको नाफा घट्यो (कुन बैंकको कति?)


काठमाडौं ।
कोरोना भाइरसको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ । वाणिज्य बैंकहरुले यतिबेला गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिहरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको देखिएको छ । कोरोना संक्रमणका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सो बेलादेखि सम्पूर्ण व्यापार व्यवसाय ठप्प छन् । किस्ता र व्याज समेत तिर्न पाएनन् । समयमा तिर्न नसकेपछि सरकारले मौद्रिक नीतिमार्फत ऋणको किस्ता र ब्याज तिर्ने समय सारेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले व्यवसायीलाई ब्याजमा छुट समेत दिएका छन् । कोरोनाका कारण थला परेका व्यवसायीलाई ब्याज छुट उपलब्ध गराउँदा बैंकको नाफामा धक्का परेको हो । त्यस्तै, कोरोनाका कारण बैंकले समयमा ऋण उठाउन सकेनन् । जसका कारण बैंकको खुद ब्याज आम्दानी पनि घट्यो । यसले बैंकको नाफामा धक्का समेत दियो ।

गत आर्थिक वर्षको नाफा घटाउने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, स्ट्यान्डर्ड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, सिद्धार्थ, एभरेष्ट, नेपाल बंगलादेश, हिमालय लगायतका बाणिज्य बैंकहरुको नाफामा भारी गिरावट आएको छ । त्यस्तै, कुमारी, ग्लोबल आइएमई, एनएमबी, प्राइम, एनआइसी एसिया तथा सेन्चुरी लगायतका बैंकहरुले नाफामा केही सुधार गरेका छन् । त्यसैगरी अधिकांश बैंकको खराब कर्जा पनि बढेको छ । त्यस्तै बैंकहरुले अघिल्लो वर्षको तुलनामा संचालन मुनाफा पनि घटेको देखिएको छ ।

यस्तो छ बैंकहरुको प्रगति विवरण
नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नाफा घटाएको छ । बैंकले गत वर्ष २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३२ करोड रहेको थियो । त्यस्तै, बैंकले रिजर्भमा ११ अर्ब ४१ करोड संकलन गरेको छ । बैंकले विवरणयोग्य नाफा ६५ करोड रुपैयाँ कमाएको छ । बैंकको पूँजीकोष १३.२३ प्रतिशत अनुपात रहेको छ । त्यस्तैै, बैंकको खराब कर्जा २.९१ प्रतिशत रहेको छ । वेसरेट ७.५१ प्रतिशत रहेको छ । बैंकले २ अर्ब ६२ करोड रुपैयाँ व्याज र किस्ता उठाउन नसकेका कारण नाफामा गिरावट आएको हो । त्यस्तै, एक वर्षको अवधिमा बैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, बैंकले कर्जा लगानी १३ अर्ब रुपैयाँले बढाएको छ । बैंकले असार मसान्तसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सिद्धार्थ बैंक

त्यस्तै, सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा घटाएको छ । बैंकले यस अवधीमा २ अर्ब ९ करोड २७ लाख ७० हजार ७४० रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ७.३० प्रतिशतले नाफा घटाएको हो । बैंकले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार ३२३ रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकले ८६ करोड ६४ लाख ८४ हजार ७५५ रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकले गत वर्ष ५ अर्ब ५८ करोड ७९ लाख ९ हजार ८७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो आवको यसै अवधीमा ४ अर्ब ६६ करोड ७३ लाख २७ हजार ७७७ रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । त्यस्तै, बैंकले सञ्चालन मुनाफामा ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार ५९६ रुपैंयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको संचालन मुनाफा ३ अर्ब २८ करोड ३७ लाख ४ हजार २०३ रुपैयाँ थियो । बैंकले ५ अर्ब २४ करोड ३३ लाख ६४ हजार ४६९ रुपैयाँ जगेडा कोषमा राखेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको छ ।

मेगा बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्म मेगा बैंकले १ अर्ब ५२ करोड नाफा कमाएको छ । बैंकको जगेडामा ३ अर्ब ३२ करोड रहेको छ । त्यस्तै, बैंकको पूँजीकोष १२.८८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा १.२० प्रतिशत रहेको छ । त्यस्तै, ७५.३५ प्रतिशत कर्जा निक्षेप अनुपात, बेसरेट ८.३२ प्रतिशत र स्प्रेडदर ४.३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकले गत आर्थिक वर्षमा १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

एभरेष्ट बैंक

त्यस्तै, कोरोनाको असर एभरेष्ट बैंकमा पनि देखिएको छ । बैंकको गत वर्षको असार मसान्तसम्म १८.२६ प्रतिशतले नाफा घटेको छ । बैंकले गतवर्ष २ अर्ब ४९ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो । त्यस्तै, बैंकको १३.३२ प्रतिशत पूँजीकोष अनुपात रहेको छ । खराब कर्जा ०.२२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ६८.५७ प्रतिशत छ भने वेसरेट ८.०५ प्रतिशत रहेको छ । स्प्रेडदर ३.५९ प्रतिशत छ । त्यस्तै, बैंकले गत वर्ष १ खर्ब ४३ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २९ अर्ब रहेको थियो । त्यस्तै, बैंकले १ खर्ब १२ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको असार मसान्तमा कर्जा १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो ।

स्टयान्डर्ड चार्टर्ड बैंक

स्टयान्डर्ड चार्टर्ड बैंकले १७.७६ प्रतिशतले नाफा घटाएको छ । गतवर्ष बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकले १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकले ३ अर्ब ५१ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५३ करोड १८ लाख ६२ हजार रुपैयाँ खुद थियो । त्यस्तै, बैंकले सञ्चालन मुनाफा ३ अर्ब ४७ करोड ७६ लाख २७ हजार रुपैयाँबाट घटेर २ अर्ब ८४ करोड १४ लाख ४० हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले जगेडा कोषमा ५ अर्ब ५६ करोड ९० लाख ५४ हजार रुपैंयाँ राखेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतबाट बढेर ०.४४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, बैंकले ९८ अर्ब ४६ करोड ७५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब ९१ करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि नाफा घटाएको छ । बैंकले गतवर्ष ४ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको हो । कोरोनाका कारण बैंकले करिब ११ प्रतिशतले नाफा घटाएको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ४ करोड नाफा कमाएको थियो । त्यस्तै, बैंकले १३ अर्ब रुपैयाँ जगेडामा राखेको छ । बैंकको पूँजीकोष अनुपात १२.६८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा ४.०८ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा वाणिज्य बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकको खराब कर्जा ४.७९ प्रतिशत थियो । त्यस्तै, बैंकको वेसरेट ५.८० प्रतिशत र ४.२६ प्रतिशत स्प्रेडदर रहेको छ । बैंकले गतवर्ष २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल बंगलादेश बैंक

कोरोनाका कारण नेपाल बंगलादेश बैंकको नाफामा पनि भारी गिरावट आएको छ । बैंकले गतवर्ष १ अर्ब २४ करोड ४५ लाख ८० हजार २०५ रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड ७९ लाख ६० हजार १४५ रुपैयाँ नफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २१.६२ प्रतिशतले नाफा घटाएको छ । बैंकले १ अर्ब २० करोड किस्ता र ब्याज उठाउन नसकेपछि नाफामा धक्का लागेको हो । त्यस्तै, बैंकले गत वर्ष वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार १२ रुपैयाँ कमाएको छ । बैंकले अघिल्लो वर्ष २ अर्ब ९० करोड ६५ लाख ३६ हजार ९२१ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । तर गतवर्ष २ अर्ब ८४ करोड ४७ लाख ३६ हजार ४७२ रुपैयाँ मात्रै आम्दानी गरेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा २ अर्ब २७ करोड २० लाख २७ हजार ५६२ रुपैयाँबाट घटेर १ अर्ब ८० करोड ५ लाख ५८ हजार ९२१ रुपैयाँमा झरेको छ । बैंकले जगेडा कोषमा ४ अर्ब ११ करोड २१ लाख ९९ हजार ३३७ रुपैयाँ राखेको छ । त्यस्तै, बैंकको खराब कर्जा १.७४ प्रतिशतबाट बढेर २.८९ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ ०१ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ १५ पैसा, तरलता अनुपात ३४.४५ प्रतिशत रहेको छ । बैंकले गतवर्ष ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार ४२३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५८ अर्ब ९६ करोड ६५ लाख १७ हजार ३४ रुपैयाँ कर्जा लगानी गरेको छ ।

हिमालयन बैंक

हिमालय बैंकले ८ प्रतिशतले नाफा घटाएको छ । बैंकले गत वर्ष २२ करोड १२ लाख रुपंैयाँले घटाएर २ अर्ब ५४ करोड रुपैंयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ७६ करोड रुपंैयाँ नाफा कमाएको थियो । त्यस्तै, बैंकले वितरण योग्य नाफा १ अर्ब ३० करोड गरेको छ । त्यस्तै, बैंकको अघिल्लो आवमा ३२.४४ पैसा रहेको प्रतिशेयर आम्दानी १६.३६ प्रतिशतले घटेर २७.१३ पैसामा झरेको छ । त्यस्तै, बैंकको खराब कर्जा अनुपात ०.११ प्रतिशतले घटेर १.०१ प्रतिशतमा झरेकोे छ । यस्तै, बैंकको स्प्रेडरेट ३.७७ प्रतिशत, बेसरेट ८.३८ प्रतिशत रहेको छ । बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पनि गतवर्ष नाफा घटाएको छ । गतवर्ष बैंकले १ अर्ब ४८ करोड रुपंैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ५९ करोड रुपंैयाँ नाफा कमाएको थियो । बैंकको पूँजीकोष अनुपात १२.४६ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १.०४ प्रतिशत छ । अघिल्लो वर्ष खराब कर्जा १.२० प्रतिशत रहेको थियो । त्यस्तै बैंकको वेसरेट ९.२३ प्रतिशत, स्प्रेडदर ३.९४ प्रतिशत, प्रतिशेयर आम्दानी १५.१३ रुपैयाँ रहेको छ । बैंकले २० अर्ब रुपैयाँले निक्षेप बढाएको छ । बैंकले अघिल्लो वर्ष ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, बैंकले ८९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ७४ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष कर्जा लगानी १५ अर्ब रुपैयाँले बढाएको हो ।

नेपाल बैंक

सरकारी स्वामित्वको नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैँयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १.५५ प्रतिशतले कमी हो । बैंकले अघिल्लो वर्ष २ अर्ब ५९ करोड ३७ लाख ३६ हजार नाफा कमाएको थियो । बैंकले यस अवधीमा खुद ब्याज आम्दानी र संचालन नाफा पनि घटाएको छ । बैंकले अघिल्लो वर्षको यहि अवधीमा ६ अर्व १८ करोड ९५ लाख ४२ हजार खुद ब्याज आम्दानी गरेको थियो । यस वर्ष बैंकले ९.१ प्रतिशतले खुद ब्याज आम्दानी घटाएको छ । त्यस्तै, बैंकको संचालन मुनाफा पनि ४ अर्व ५१ करोड ४७ हजार रुपैँयाँले घटेर ३ अर्व ५६ करोड ६४ लाख ३२ हजार रुपैँयाँमा सिमित भएको छ । बैंकको यो संचालन नाफा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले कमी हो । त्यस्तै, बैंकले जगेडा कोषमा १२ अर्व ९८ करोड ५४ लाख ३५ हजार रुपैँयाँ राखेको छ । बैंकको प्रतिशत शेयर नेटवर्थ २६७ रुपैँयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।

सनराइज बैंक

सनराइज बैंको नाफामा पनि कोरोनाको असर देखिएको छ । बैंकले गतवर्ष १ अर्ब ३९ करोड रुपैंयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ७० करोड नाफा गरेको थियो । बैंकको १४.६० प्रतिशत पूँजीकोष अनुपात रहेको छ भने खराब कर्जा १.८६ प्रतिशत रहेको छ । त्यस्तै, ७१.३० प्रतिशत कर्जा निक्षेप अनुपात रहेको छ । स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकले करिब १५ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । बैंकले गत वर्ष ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले गत वर्ष ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १३ अर्बले कर्जा वृद्धि गरेको छ ।

सानिमा बैंक

सानिमा बैंकले गतवर्ष नाफा घटाएको छ । बैंकले गत वर्ष १ अर्ब ७० करोड नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब २५ करोड थियो । बैंकले एक वर्षमा १७ अर्ब रुपैयाँले नाफा बढाएको हो । बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ११ करोड गरेको छ । बैंकले खराब कर्जा पनि बढाएको छ । गतवर्षको चौँथो त्रैमासमा बैंकको खराब कर्जा ०.४८ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७४.७२ प्रतिशत रहेको छ भने वेसरेट ८.६२ प्रतिशत रहेको छ । स्प्रेडदर ३.४७ प्रतिशत छ । त्यस्तै, बैंकले असार मसान्तसम्ममा १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ अघिल्लो वर्ष असार मसान्तमा ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको असार मसान्तसम्ममा ९० अर्ब कर्जा थियो । गतवर्ष ८१ अर्ब कर्जा प्रवाह गरेको थियो ।

सेञ्चुरी बैंक

सेन्चुरी बैंकले नाफा ३३.९९ प्रतिशतले बढेको छ । बैंकले यो अवधीमा ९० करोड ६३ लाख २३ हजार नाफा कमाएको छ । बैंकले अघिल्लो वर्ष ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारका कारण बैंकको नाफा बढेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ । २ अर्ब ५९ करोड २० लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । सञ्चालन मुनाफा १ अर्ब २ करोड ५९ लाख ६५ हजार रुपैयाँबाट बढेर १ अर्ब २२ करोड ८८ लाख ७२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख ४ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, ६५ अर्ब ३४ करोड ३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ४ करोड ४४ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.४० प्रतिशतबाट बढेर २.२१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ ७७ , प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ ।

एनआइसी एशिया बैंक

कोरोना कहरकैबीच एनआइसी एशिया बैंकको नाफा ३.२५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ कमाएको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकले अघिल्लो आवको चौथो त्रैमासमा ६ अर्ब ९६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको थियो । बैंकले गत आवको सोही अवधिमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड रुपैयाँ रहेको नाफा कमाएको छ । त्यस्तै, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १३ पैसा, प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा , खराब कर्जा ०.४६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । बैंकको पूँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ । बैंकको आधार दर ७.७० प्रतिशत, स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम बैंकको नाफा ४.२७ प्रतिशतले बढेको छ । २ अर्ब २९ करोड २८ लाख २ हजार ५७६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २ अर्ब १९ करोड ८७ लाख ९२ हजार २४३ रुपैयाँ थियो । त्यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार ५३२ रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आव ३ अर्ब ५८ करोड ४६ लाख ७ हजार १८७ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा गत आवको सोही अवधिमा ४ अर्ब ६१ करोड ७८ लाख १० हजार ७७१ रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा ३ अर्ब १४ करोड ९५ लाख १५ हजार ७०९ रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड २ लाख ३३ हजार १९८ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख ९३ हजार ६१० रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १ प्रतिशतबाट बढेर बढेर १.५४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १६ रूपैयाँ ३९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ९१ पैसा छ । तरलता अनुपात २४.०४ प्रतिशत रहेको छ । त्यस्तै, १ खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार ६२३ निक्षेप संकलन गरेको छ । बैंकले १ खर्ब १० अर्ब ४५ करोड ४२ लाख ९५ हजार ५३४ रुपैयाँ कर्जा लगानी गरेको छ ।

एनएमबी बैंक

एनएमबी बैंकले ०.५९ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले गत वर्ष २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले अघिल्लो वर्ष २ अर्ब २५ करोड रुपैयाँ कमाएको थियो । बैंकले अघिल्लो आवमा ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधीमा बैंकको संचालन नाफा २ अर्ब ४३ करोड छ । बैंकको खराब कर्जा १.८६ प्रतिशत छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले गत वर्ष ३ अर्ब १४ करोड नाफा गरेको छ । गत वर्ष बैंकले २ अर्ब ७५ करोड नाफा कमाएको थियो । बैंकले रिजर्भमा ८ अर्ब ४१ करोड रुपैयाँ राखेको छ । बैंकको पूँजीकोष अनुपात १२.४१ प्रतिशत छ । त्यस्तै, खराब कर्जा ०.५५ प्रतिशतबाट बढेर १.८० प्रतिशत पुगेको छ । बैंकको वेसरेट ८.४२ प्रतिशत, स्प्रेडदर ४.४३ प्रतिशत र प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

कुमारी बैंक

कुमारी बैंकले गतवर्ष १ अर्ब २२ करोड नाफा गरेको छ । बैंकको जगेडामा ३ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कर्जा १ खर्ब ११ अर्ब रहेको छ । बैंकको खराब कर्जा १.४१ प्रतिशत छ । यो अघिल्लो वर्ष ०.९७ प्रतिशत थियो । बैंकको आधारदर १०.०८ प्रतिशत, स्प्रेडदर ४.०७ प्रतिशत रहेको छ ।

Logo