भक्तपुरमा काङ्ग्रेसबाट भँडेल र राप्रपाबाट नेपाल उम्मेदवार
काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद भँडेल

भक्तपुर,

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आफ्नो उम्मेदवार चयन गरेको छ । काङ्ग्रेसले नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का पूर्वसभापति कृष्णप्रसाद भँडेललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेस जिल्ला समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले श्याम नेपाललाई उम्मेदवार बनाएको छ । नेकपाले भने यसअघि नै डिपी ढकाललाई र साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार तोकेको छ । अन्य दलले भने आज मात्रै उम्मेदवार थाहा हुने प्रतिक्रिया दिएका छन् ।

नेकपा कार्यालयको ताला खोलियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कार्यालयमा गरिएको तालाबन्दी हिजो साँझ पार्टी अध्यक्ष वचन देउजा र उम्मेदवारका दाबी गर्नुभएका नेता रमेश बुढाथोकीले खोल्नु भएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं (क) का लागि देवीप्रसाद अर्थात् डिपी ढकाललाई पार्टीले उम्मेदवारी बनाएकामा आपत्ति जनाउँदै चाँगुनारायणका नेकपाका नेता तथा कार्यकर्ताले गत १८ गते बिहान पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।

नेकपा भक्तपुर जिल्ला सदस्यसहितको नेतृत्वमा आएका नेता तथा कार्यकर्ताको टोलीले नाराबाजीसहित विरोध गर्दै सूर्यविनायकस्थित नेकपा भक्तपुर कार्यालयको दुई वटा ढोकामा तालाबन्दी गरेका थिए ।

भक्तपुर नेकपाभित्र समझदारी बनेपछि पार्टीको निर्णयलाई मान्ने र नेकपाका उम्मेदवार ढकाललाई जिताउन सबै एक ढिक्का भएर लाग्ने निर्णय गर्दै ताला खोलिएको नेकपा भक्तपुरका अध्यक्ष देउजाले जानकारी दिनुभयो । ताला खोलेर आजै पार्टी कार्यालयमा बैठक बसेर कुनै पनि विवाद नराखी ढकाललाई जिताउन एकमत भएर लाग्ने निर्णय गरेको देउजाको भनाइ थियो ।

नेता बुढाथोकीले जनताले आफ्नो पक्षमा उत्रिएर विरोध गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरे पनि पार्टीको निर्णयलाई आफूले स्वीकार गर्दै पार्टीलाई जिताउन चुनावी प्रचारमा आफू निरन्तर लाग्ने बताउनुभयो ।