राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने ­!

राप्रपाको नीतिः माओवादी सरकारमा नबस्ने, एमाले सरकारलाई सघाउने ­!


बाग्मती र कर्णाली प्रदेश सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ को सरकारले सघाउने संकेत गरेको छ ।

नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको बाग्मती र कर्णाली प्रदेशबाट केन्द्रिय निर्णय भन्दै बाहिरिएको राप्रपाले प्रदेश १ मा नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारलाई भने समर्थन कायम नै गरेर अघि बढ्ने संकेत गरेको हो । मुख्यमन्त्री कार्कीसँग मंगलबार बसेका राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले कार्की सरकारलाई समर्थन कायम नै राखेर जान सक्ने बताएको एमाले नेताहरुले बताएका छन् ।

‘राप्रपाका साथीहरुले सरकारबाट तत्काल समर्थन फिर्ता नलिने बरु मिलेर जानु पर्छ भन्ने धारणा राख्नु भएको छ,’ एमालेका एक नेताले भने । उनका अनुसार सरकार र संसदमा मिलेर जाने बारेमा दुबै पार्टीबीच घनिभुत छलफल भएको छ । यता, कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रदेश सांसद सन्तोषी शाहीले जानकारी दिएकी छिन् । राप्रपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागिएको हो । बुधबार नै संसद सचिवालयमा गएर समर्थन फिर्ता लिएको सांसद शाहीले जानकारी दिएकी छिन् ।

उता, बाग्मती प्रदेशमा रहेका तीन मन्त्रीले आइतबार नै सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिई सकेका छन् । माओवादीका शालिकराम जम्मेरकट्रेल नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीहरुमा खानेपानी मन्त्री उद्धव थापा, ऊर्जा तथा सिंचाइ मन्त्री डम्बरबहादुर तामाङ र उद्योग तथा सहकारी मन्त्री राजु बिष्टले राजिनामा दिइसकेका छन् ।

Logo