वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो १७३ रनको लक्ष्य

केन्द्रबिन्दु
70
Shares

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको हो । वेस्ट इन्डिज ‘ए’का लागि कुनै पनि खेलाडीले ठूलाे इनिङ खेलेनन् तर, लक्ष्य भने प्रतिस्पर्धात्मक नै दिएको हो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथेनाजेले सर्वाधिक ४२ रन जोडे । २९ बलमा उनले १ चौका र ३ छक्का प्रहार गरेर अविजित रहे ।

कप्तान रोष्टन चेज ३३ रनमा क्याचआउट भए । साथै ओपनर जोन्सन चाल्र्सले २४ रन, म्याथु फोर्डेले २३ रन बनाउँदा कादिम एलीने र मार्क देयालले समान ११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले समान ३/३ विकेट लिए । अविनाश बोहराकाे नाममा एक विकेट रह्याे ।

उक्त शृङ्खलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

Logo