रोक्ला त बार्सालाई रियलले ?

रोक्ला त बार्सालाई रियलले ?


बार्सिलोना र रियल म्याड्रिडले फेरि एक पटक एकअर्काको सामना गर्दैछन् । कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा यी दुई टोलीबीच बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा प्रतिस्पर्धा हुने भएको हो । खेल नेपाली समय अनुसार बुधबार राती १२ः४५ बजे सुरु हुनेछ । जारी सिजनको यी दुई क्लबबीच पाँचौं र अन्तिम एल क्लासिको खेल हो ।  

ला लिगामा ११ खेल खेल्न बाँकी रहेको अवस्थामा बार्सिलोना रियल म्याड्रिडभन्दा १२ अंकले अग्रता लिइसकेको अवस्था छ । च्याम्पियन्स लिगबाट लगातार दोस्रो वर्ष बाहिरिएको बार्सिलोना १४ पटकको युरोपियन च्याम्पियन्सलाई आफ्नै घरमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । 

यी दुई क्लब बिच भएका पछिल्ला ५ भेटमा बार्सिलोना रियलभन्दा अघि देखिन्छ । पछिल्लो ५ खेलमध्ये ३ खेल बार्सिलोनाको नाममा रहदा २ खेल भने रियलको नाममा रहेको छ । पहिलो सेमिफाइनल लेगमा बार्सिलोनाले रियललाई १–० ले हराएको थियो । अर्कोतर्फ रियल म्याड्रिड पनि पहिलो लेगको हारलाई बिर्सदै दोस्रो लेगमा पुनरागमन जित निकाल्न चाहन्छ । लिगमा बार्सिलोनालाई उपाधि सुम्पिसकेको अवस्थामा रियल कुनै पनि हालतमा कोपा डे रे मा बार्सिलोनाको चुनौतीलाई समाप्त गर्दै फाइनलमा ओसासुना विरुद्ध खेल्न चाहन्छ । रियल अप्रिल १३ का दिन च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध उत्रनुअघि उच्च मनोबल बनाउन बार्सिलोनालाई पहिलो लेगको हारलाई तार्दै जित निकाल्न चाहन्छ । 

आज बेलुकी हुने खेललाई रियल म्याड्रिड र बार्सिलोना विचको खेलसँगै रोवर्ट लेवान्डोस्की विरुद्ध करिम बेन्जेमाका रुपमा पनि हेरिएको छ । यी दुबै खेलाडी जारी सिजन आ–आफ्नो क्लबका लागि महत्वपुर्ण योगदान पुर्याउदै आइरहेका छन् । जसमध्ये बार्सिलोनाका स्ट्राइक लेवान्डोस्कीले जारी सिजन १७ गोल गर्दा अर्कोतर्फ रियल म्याड्रिडका करिम बेन्जेमाले १४ गोल गर्दै लेवान्डोस्कीलाई पछ्याइरहेका छन् । 

कोपा डेल रे को ट्रफी बार्सिलोनाले अहिलेसम्म ३१ पटक जिती सकेको छ भने रियलले सो ट्रफी १९ पटक मात्र जितेको छ । २५२ पटक एक अर्कासँग भिड्न्त गरिसकेका यी दुई क्लब एकअर्काको लागि निकै पुरानो र बलियो प्रतिद्धन्द्धी हुन् । 

Logo