मुर्रा राँगोको विरोध गर्नु नेपालको कृषि क्षेत्रको अपमान होः किसान महासंघ

मुर्रा राँगोको विरोध गर्नु नेपालको कृषि क्षेत्रको अपमान होः किसान महासंघ


अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले भारतबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषयमा भइरहेको टिकाटिप्पणीबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले मुर्रा राँगो नेपाल ल्याउने निर्णयको विरोध गर्दा अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गर्ने र युवाहरूलाई कृषिबाट विकर्षित गर्ने लक्ष्य देखिएको उल्लेख गरेको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘आफैले आफैलाई ब्रम्हज्ञानी ठान्ने महाकाली बेचुवा राजनीतिक दलहरू, जान्नेलाई छान्ने भन्दै आफू बाहेकका आम नागरिक, किसान र मजदुरहरूलाई नजान्नेहरुले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरिरहेका छन् ।’ 

नेपालको अर्थतन्त्रमा कृषिको योगदान, कृषि क्षेत्रमा पशुपालन, पशुपालनमा भैँसीको योगदान र भैँसीको उत्पादन र उत्पादकत्व बृद्धिमा उन्नत नश्ल सुधार, कृत्रिम गर्भाधान र त्यसका लागि मुर्रा जातको भैँसीको उपयोगिता र प्रभावकारिता बारे कुनै ज्ञान नभएको समेत पाइएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालजस्तो किसान बाहुल्य भएको मुलुकमा देशको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने किसानहरू नेपालका प्रमुख उत्पादक शक्ति भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका मुख्य चालक शक्ति हुन् । यहीकारण, किसानको आयस्रोत विकास गर्ने लक्ष्यसहित मुर्रा राँगो ल्याउने सरकारको निर्णय स्वागत योग्य छ ।’ 

Logo