नेपाल जिम्बावेसँग हार्नुको प्रमुख पाँच कारण यस्ता छन् [भिडियाेसहित]

नेपाल जिम्बावेसँग हार्नुको प्रमुख पाँच कारण यस्ता छन् [भिडियाेसहित]


आइतबार एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भयो। हरारे स्पोर्ट्स क्लबमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल अन्ततः ८ विकेटले हार्यो। नेपालले दिएको २९१ रनको लक्ष्य घरेलु टोलीले ३५ बल बाँकी छँदै पूरा गर्यो।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय ७१ रनको कीर्तिमानी साझेदारी गरे। तर फिनिसिङमा चुक्दा नेपाल तीन सय रनको आँकडा भेट्टाउन भने असफल भयो। नेपालले अन्तिम ५ ओभरमा ३४ रन बनाउन ४ विकेट गुमाउन पुग्यो।

तर क्रेग इर्विन र सेन विलियम्सले शतकीय पारी खेलेपछि नेपाल हार भोग्न बाध्य भयो। नेपाल अर्को एतिहासिक जितको मुखैमा पुगेर रोकिन बाध्य भयो। नेपालले आफ्नो क्रिकेट इतिहासमा टेस्ट टोलीलाई पहिलो पटक हराउने अवसर पाएर पनि कहाँ चुक्यो? यी प्रश्न तपाईंमा पनि उब्जिकएकै होला। जिम्बावेविरुद्ध नेपाल हार्नुका प्रमुख ५ कारण यस्ता छन्–

१. साझेदारी तोड्न नसक्नु
जिम्बावेका विलियम्स र एर्विनको साझेदारी तोड्न नसक्नु नेपालका लागि हार ब्यहोर्नुको मुख्य कारणमध्ये एक हो। यी दुई खेलाडीले १ सय ६४ रनको अविजित साझेदारी गरेपछि नेपालले दिएको लक्ष्य जिम्बावेले सहजै भेटाएको थियो।

नेपालले यी दुई ब्याटरलाई ठुलो साझेदारी बनाउनुभन्दा पहिले नै आउट गर्न सकेको भए जिम्बावेलाई दबाब बनाउन सक्थ्यो। दबाबमा आएको जिम्बावेले अन्य विकेट सहजै गुमाउन सक्थ्यो तर यी दुई ब्याटरले आफ्नो अनुभवको भरपुर फाइदा उठाउँदै नेपालको ऐतिहासिक जितका लागि तगारो बनेका थिए।
 
२.अन्तिम ५ ओभरमा सम्हालिन नसक्नु
जिम्बावेविरुद्ध हार्नुको अर्को कारण हो, अन्तिम पाँच ओभरमा खराब ब्याटिङ गर्नु। अन्तिम पाँच ओभर अर्थात ३० बलमा नेपालले ४ विकेट गुमाउँदै मात्रै ३२ रन मात्र बनाउन सक्यो। नेपालले अन्तिम पाँच ओभरमा बाउन्ड्रीको रुपमा एउटा मात्रै चौका प्रहार गर्य ।

नेपाल ४५औं ओभरमा २५८ रन बनाएर ६ विकेटका साथ मजबुत अवस्थामा थियो। तर अन्तिम ३० बलमा सम्हालिएर खेल्न नसक्दा नेपाल तीन सय रनको आकडा छुनबाट बन्चित भयो। जसका कारण जिम्बाब्वेको लक्ष्य सहज बन्यो।  

३. कमजोर बलिङ
आइतबार जिम्बावेविरुद्ध नेपालले बिसर्नलायक बलिङ गर्यो। विशाल रनको लक्ष्य पछ्याएको जिम्बावेले नेपाली बलरहरुलाई सहजै बिट गरिरहे। तीव्र गतिका बलरमा गति, बाउन्स र स्वींग नहुनु र स्पिन बलमा टर्न नहुनु हारको कारण बन्यो।

जिम्बावेले नेपाली बलरका बललाई सहजै डच गरिरहेका थिए। नेपालको बलिङ आक्रमण जिम्बावे सामु निकै निरिह सावित भयो । हुनत यसअघि पनि नेपालको कमजोर ब्याटिङ उत्कृष्ट बलिङका कारण लुकेको थियो।

घरेलु मैदानमै स्कटल्यान्डले नेपाललाई २ सय ७४ रन, नामिबियाले २ सय ८५ रन, पपुवा न्युगिनीले २ सय ९२ रन र युएईले ३ सय १० रनको लक्ष्य दिनुले पनि नेपालको कमजोर बलिङ छर्लङ हुन्छ। कमजोर ब्याटिङको परम्परागत समस्यालाई सुधार गर्ने लोभमा नेपालले बलिङ नै बिर्सिसकेको छ। आगामी खेलमा पनि यस्तै कमजोर बलिङका कारण नेपालले भारी नोक्सानी ब्यहोर्न सक्छ।

४. प्रमुख बलर नचल्नु
जिम्बावेविरुद्ध नेपालका प्रमुख बलर नचल्नु हारको अर्को कारण हो। सर्वाधिक आशा गरिएका सन्दीप लामिछाने नै जिम्बावेविरुद्ध सबैभन्दा बढी चुटिए।

४२ खेलमा सय विकेटको विश्व कीर्तिमानधारी लामिछानेले हरारेमा विकेट लिनै सकेनन्। अन्य बलरहरु सोमपाल कामी, करण केसी र गुल्सन झा जिम्बावेका ब्याट्म्यान अघि निरिह बन्दा पार्ट टाइम बलह सामु विकेट लिनुपर्ने दवाव आएको थियो। तर पार्ट टाइम बलरहरु पनि जिम्बावे ब्याटरका अघि चल्न सकेनन्। 

५.पिचको अवस्था नबुझ्नु 
नेपालले जिम्बावेविरुद्ध हार ब्यहोर्नु अर्को मुख्य कारण हरारे स्पोर्ट्स क्लबको पिच कन्डिसन बुझ्न नसक्नु पनि एक हो। यदि नेपालले हरारेको ब्याटिङ पिचलाई बुझेको भए नेपालले धेरै रन बनाउन सक्थ्यो। पिचमा टर्न, बाउन्स र स्वींग कम थियो।

ओपनर आसिफ र कुशलको अप्रत्याशित साझेदारीले त्यो आधार तय गरेका थिए। नेपालले ३ सय ३० माथिको योगफलमा रन बनाउँदै मानसिक दबाबमा राख्न सक्थ्यो। तर त्यसो हुन नसक्दा नेपाल २९० रनमै रोकियो। 

Logo