#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व102673954045754108218586
नेपाल7061

सगरमाथासहित ६ वटा हिमालको एकै पटक सफा गरिँदै

काठमाडौं ।

नेपालका ६ वटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपैयाँको लागतमा हिमालको सफाइ गरिनेछ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन ६ वटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए  ।

यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन् । हिमाल र हिउँको संरक्षणसँगै वातावरण संरक्षण गर्न हिमाल सरसफाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ । पहिले सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वातावरण विभागलाई दिइएको थियो तर हालै मात्र परिवर्तन गरी हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

चैत २० गते हिमाल सरसफाइका लागि ६ वटै टोली आफ्नो गन्तव्यतर्फ लाग्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । नयाँ वर्ष २०७७ को वैशाख ३ गतेदेखि डेढ महिनासम्म हिमाल सरसफाइ अभियान चल्नेछ । सगरमाथासहित ६ वटा हिमालबाट करिब ४५ हजार किलो फोहोर सङ्कलन गर्ने योजना नेपाली सेनाको छ ।

योजना अनुसार सगरमाथा, ल्होत्से र पुमरी हिमालको बेसक्याम्पमाथि १० हजार किलो र बेसक्याम्प तल आसपासबाट थप २० हजार किलो गरी कुल ३० हजार किलो फोहोर सङ्कलन गरिनेछ । मकालु हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र बेसक्याम्प तलबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुने अनुमान छ ।

त्यसैगरी धवलागिरि हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र तलको क्षेत्रबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुनेछ । आमादब्लम हिमालको बेसक्याम्पमाथि तीन हजार किलो र तलका क्षेत्रबाट दुई हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन गरिने लक्ष्य राखिएको छ । नेपाली सेनाले विश्व वातावरण दिवस (जुन ५) का दिन सङ्कलित फोहोर हस्तान्तरण गर्ने कार्यक्रम बनाएको छ ।
गोरखापत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार