नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस्- उपप्रधानमन्त्री खड्का

नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस्- उपप्रधानमन्त्री खड्का


उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् । 

नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताएका हुन् ।

उनले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गरे । अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक विपद् तथा उद्धारका काममा रातदिन खटेर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताए ।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको उनको भनाइ थियो ।

रक्षामन्त्री खड्काले भने, “तपाईंहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ, तपाईंहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।”

उनले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टर २४सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए । “जहाज मर्मत गर्दा पनि धेरै लामो समय ग्राउन्डेड भएर बस्नुपर्ने अवस्था नहोस्, सबै काम पारदर्शीरूपमा छिटो छरितो होस्, त्यसका लागि नीतिगत रूपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैँ तयार रहन्छ”, उनले भने । 

Logo