कोशीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

कोशीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग


कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुले माग गरेका छन् । गत साउन महिनादेखि कोशी प्रदेश सभा सभामुखबिहीन छ ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रदेश सभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

शून्य समयमा बोल्दै सांसद मैया श्रेठले साउनदेखि सभामुखबिहीन रहेको भन्दै सभामुख चयन प्रक्रिया चाँडै अघि बढाउन आग्रह गरिन् । प्रदेशसभा नेतत्वबिहीन अवस्थामा लामो समय राख्नु नहुने भन्दै यसका लागि सम्बन्धित सबैले गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

यसैगरी, राप्रपा सांसद गोपाल विकले सभामुखको व्यवस्था गर्न ढिलाइ गर्नु नहुने बताए ।
 
नेपाली काँग्रेसकी सांसद शोभा चेम्जोङले प्रदेशसभा सभामुखविहीन भएकाले यथाशीघ्र सभामुखको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रक्रियामा सहभागी हुनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए ।

माओवादीबाट सांसद बनेका गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त छ । संसद सञ्चालनका बेला उपसभामुखले अध्यक्षता गर्ने गरेकी छन् ।

यसैबीच, प्रदेशसभा बैठकले कर्णाली प्रदेशमा भूकम्पमा परी मृत्यु भएकाहरुको शोकमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको काममा तदारुकता अपनाउन पनि आग्रह गरेको छ ।

Logo