बसोबास प्रपर्टी इभेन्टः पहिलो इभेन्टमै करोडौंको कारोबार गर्न सफल

बसोबास प्रपर्टी इभेन्टः पहिलो इभेन्टमै करोडौंको कारोबार गर्न सफल


बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला सफलताका साथ सम्पन्न भएको छ। घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यसहित शनिबार आयोजित मेला बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चलेको थियो।

नेपालमै पहिलोपटक आयोजना भएको उक्त मेलामा एक हजारभन्दा बढी सहभागीहरूले प्रत्यक्ष अवलोकन गरेका बताइएको छ। मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरहरूका ११ वटा स्टलमा २५० भन्दाबढी प्रपर्टीहरू प्रदर्शन गरिएको थियो। जसबाट आवासीय अपार्टमेन्ट, घर र कमर्सियल स्पेस गरी पाँचवटा प्रपर्टी बुकिङ भएका छन्।

त्यस्तै, १६ वटा ‘डिस्काउन्ट बुकिङ’ बिक्री भएका छन्। समग्र स्टलहरूबाट मेलाको दिन मात्रै ५० करोडभन्दा बढीको कारोबार भएको इभेन्ट आयोजकले जनाएको छ।

पहिलो मेलामा पाएको सफलताले आगामी दिनमा मेलाको आयोजना गर्न हौसला मिलेको बसोबास नेपालका सेल्स म्यानेजर अंकित घिमिरेले बताए।

मेलालाई सम्बोधन गर्दै बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले भने, ‘बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका वेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुगोस् र पारदर्शी रूपमा कारोबारको अवस्था सिर्जना होस् भन्ने हाम्रो चाहना थियो। यसमा हामी सफल भएका छौँ।’

निजी कम्पनीले आफ्नै जोखिममा आयोजना गरेको मेलाले राम्रो उपलब्धि दिएको उल्लेख गर्दै उनले घरजग्गा कारोबार पनि एउटा इन्डस्ट्री हो भन्ने कुरा साबित गर्न सफल भएको दाबी गरे। मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीबाट माथि उकास्न सहयोग गर्ने सिइओ अधिकारीको अपेक्षा छ।

मेलामा बसोबास नेपालले उपलब्ध गराएको प्लेर्टफर्ममा सिई कन्स्ट्रक्सन, सिडी डेभलपर, पद्मा कोलोनी, सिजी प्रपर्टिज, भूमि डेभलपर, डाउनटाउन, सिजी डेभलपर, प्लेटिनम डेभलपर, बृहत् इन्भेस्मेन्ट, हार्मोनी कोलोनीलगायत ठूला डेभलपरहरूका छुट्टाछुट्टै स्टलहरू राखिएको थियो।

होटेल हिमालयमा आयोजित मेलामा स्ट्यान्डर्ड चाटर्ड बैंकले मेलामा सहभागी सेवाग्राहीलाई बैंकिङ परामर्श दिएको थियो। साथै, कानुनी परामर्शका लागि पनि छुट्टै बुथको व्यवस्था गरिएको थियो।

Logo