कोरोनाका कारण अमेरिकामा साढे २ करोड मानिस बेरोजगार

कोरोनाका कारण अमेरिकामा साढे २ करोड मानिस बेरोजगार


काठमाडौं ।
कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारीको समस्या चुलिन थालेको छ । कोरोनाका कारण अमेरिकामा २ करोड ६४ लाख मानिसहरु बेरोजगार भएका छन् ।

कोरोना महामारी बढेसँगै अमेरिकी अर्थव्यवस्था कमजोर बन्दा बेरोजगारीको संख्यामा वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उनीहरुका अनुसार गत हप्ता ४४ लाख अमेरिकी नागरिकहरुले बेरोजगार सुविधा मागेका छन् । पाँच हप्ताको अन्तरालमा बेरोजगारी संख्यामा भएको वृद्धि एक दशकमा सिर्जना भएको रोजगारीको संख्या भन्दा बढी देखिएको अन्तर्राष्ट्रिय संचार माध्ययमहरुले जनाएका छन् । मध्य मार्चदेखि ६ जनामा एक जना बेरोजगार भएको तथ्यांकले देखाएको छ । अप्रिलमा बेरोजगारीको दर २० प्रतिशतले बढ्ने केहि अर्थशास्त्रीहरुको दाबी छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वले सन् १९३० महामन्दी पछिको तिव्र मन्दी सामना गरेको अर्थशास्त्रीहरुले जनाएका छन् । अमेरिकाको अर्थतन्त्र यस वर्ष ५.९ प्रतिशतले संकुचित हुने आँकलन अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । प्यू रिसर्च केन्द्रको सर्वेक्षणका अनुसार कोरोना भाइरसका कारण ४३ प्रतिशत घरपरिवार बेरोजगारी तथा तलब कटौतीको शिकार भएको बताइएको छ । अमेरिकी सरकारले आर्थिक संकटलाई मध्यनजर गर्दै दुई ट्रिलियन डलर भन्दा बढिको राहत प्याकेजको व्यवस्था गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल लकडाउन माथिको प्रतिबन्ध हटाउने प्रयास गरिरहेका छन् । उनले अमेरिकी नागरिकको विरोधका कारण अमेरिकाका विभिन्न राज्यमा लागेको लकडाउन खुकुलो बनाउने प्रयास गरिरहेका छन् । अमेरिकामा हाल कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा बढी छ । हालसम्म अमेरिकामा ८ लाख ८६ हजार भन्दा बढि कोरोना संक्रमित भएका छन् भने ५० हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

Logo