एमसीसीको विरोधमा नेमकिपाको विरोध प्रदर्शन

एमसीसीको विरोधमा नेमकिपाको विरोध प्रदर्शन


काठमाडौं ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रघाति एमसीसी सम्झौता खारेजी गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो । एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए ।

अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षेत्रमा युद्ध गरी हतियारको ब्यापार गर्ने रहेको उनले बताए । नेपालस्थित अमेरिकी दूतावास मार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनको भनाई थियो ।

प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पूँजीपति दलालहरु मुर्दाबाद लगायतका नारा लगाइएका थिए । त्यसैगरी सैन्य गठबन्धन चाहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाएका थिए ।

Logo