कोरोनाले प्रभावित जुडोको प्रशिक्षण आजदेखि सुरु

कोरोनाले प्रभावित जुडोको प्रशिक्षण आजदेखि सुरु


काठमाडौं ।

कोरोना भाइरसको महामारीले प्रभावित बनेको जुडो खेलको प्रशिक्षण मंगलबारबाट सुरु भएको छ । काठमाडौं नयाँ बजारस्थित बहुउद्धेश्यीय मार्सल आर्ट्स केन्द्रमा जुडोको प्रशिक्षण सुरु भएको हो ।

संघका महासचिव धर्मकुमार श्रेष्ठले कोरोनाले प्रभावित बनेको जुडोको प्रशिक्षण मंगलबार औपचारिकरुपमा सुरुवात गरिएको बताए । महासचिव श्रेष्ठका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्थानीय तहसँगको सहमतिमा जुडोको प्रशिक्षण सुरु गरिएको हो ।

‘जुडोमा लक्ष्य राखेर खेल्ने खेलाडी पनि छन् । छनोट खेलको तयारी गर्नेहरु पनि छन् । प्रतियोगितालाई लक्षित गरेर तयारी हुन खोज्ने खेलाडीलाई केन्द्रित गरेर प्रशिक्षण सुरु गरेका हौं ।’ श्रेष्ठले भने ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण सूरु गरिएको श्रेष्ठले बताए । प्रारम्भिक रुपमा शारीरिक प्रशिक्षण सुरु गर्ने र बिस्तारै पुरानै लयमा फर्काउने लक्ष्य राखिएको श्रेष्ठले उल्लेख गरे ।

नेपाल जुडो संघको आफ्नै प्रशिक्षण हल छैन । यसअघि संघले दशरथ रंगशाला र सातदोबाटोको हलमा प्रशिक्षण गर्दै आएको थियो । १३ औं सागपछि रंगशालाको जुडो हल अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रयोग गरेको छ भने सातदोबाटोको हल सुटिङ्ग खेलका लागि प्रयोग भईरहेको छ ।

Logo