जनकपुर बमकाण्डमा सञ्जय साहसहित ७ जनालाई जन्मकैद

जनकपुर बमकाण्डमा सञ्जय साहसहित ७ जनालाई जन्मकैद


जनकपुरधाम । ६ वर्ष अघि जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दै पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ सहित ७ जनालाई जन्मकैदको सजाय सुनाईएको छ । पूर्व सांसद समेत रहेका सञ्जयकुमारसहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । जन्मकैदको सजाय पाउनेमा सञ्जय साह ‘टक्ला’ सहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन् ।

२०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो । विस्फोटमा परी रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो ।

Logo