श्रम शोषण ! बाल विकास शिक्षकको मासिक तलब ६ हजार

श्रम शोषण ! बाल विकास शिक्षकको मासिक तलब ६ हजार


कृष्णसिंह धामी

काठमाडौं । कैलालीकी पार्वती धमला २०५१ सालदेखि बाल विकास शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले सुरुमा साना बालबालिकालाई पढाए बाफत मासिक रुपमा ५ सय रुपैयाँ पाउनुहुन्थ्यो । बाल विकास शिक्षिकाको रुपमा काम गर्न थालेको २४ वर्षपछि उहाँलदे मासिक ६ हजार रुपैयाँ पारिश्रमिक पाउनुहुन्छ । त्यस्तै निर्मला तिमिल्सेनालाई बाल विकास शिक्षिकाको रुपमा काम गरेको १३ वर्ष नै पुग्यो । उहाँले अहिले पाईरहेको पारिश्रमिकले एक जोर राम्रो लुगा पनि किन्न पनि मुस्किल पर्छ । ‘यो ६ हजारले त एक जोर राम्रो लुगा किनु भनेपनि आउँदैन् । नत राम्रो खाना खान नै पुग्छ ।’ अनि हामीले के श्रमिकको न्यूनतम ज्याला पनि नपाउने ? उहाँको प्रश्न छ ।

उहाँले त्यही मासिक आउने ६ हजार रुपैयाँले ८ जनाको परिवार पाल्दै आउनुभएको छ । एकातिर बालबालिकाको भविश्य निर्माण गर्नुपर्ने चुनौती छ भने अर्कोतिर आफ्नै घरपरिवारसँग संघर्ष गर्नुपर्ने बाल विकास शिक्षक/शिक्षिकाहरुको बाध्यता छ । ‘आफ्नो सक्रिय अवस्थामा बालबालिकाको भविश्य बनाउन लाग्यौं । अब बुढेसकालमा रित्तो हात घर फर्किनुपर्ने ! यस्तो बिडम्बना ? यो तलबले त कसरी हामीले खर्च चलाउँने । या त राज्यले ६ हजार अनुसारको बजार व्यवस्थापन गरिदिनुपर्‍यो । होईन भने हाम्रो सम्पूर्ण जिम्मा राज्यले लिनुर्‍यो ।’ उहाँले आक्रोशित मुद्रामा गुनासो गर्नुभयो ।

त्यस्तै बालविनोद मावि ललितपुरमा कार्यरत बाल शिक्षिका ज्ञानुमाया भट्टराईले स्नातकोत्तर सम्मको पढाई पुरा गर्नुभएको छ । बाल विकास शिक्षिकाका रुपमा काम गरेको ९ वर्ष पुरा भयो । उहाँ घर परिवार र समाजबाट एउटै पीडा भोग्दै आउनुभएको छ । ‘मास्टर पढेर पनि बाल विकासको जागिर खाएर बस्ने ?’ यो उहाँले सधै घर परिवार र समाजबाट सुन्दै आएको प्रश्न हो । उहाँले शिक्षक सेवा आयोग र लोक सेवा आयोगको तयारी पनि नगरेको होईन् । तर स–साना बालबालिकालाई पढाउँदा पढाउँदै स्थायी शिक्षक र लोक सेवाको तयारी गर्न पाउनुहुन्न ।

‘घर परिवारबाट बेला–बेला मास्टर पढेर पनि बाल विकासमा जागिर खाईरहेकी ? त्यो पनि ६ हजारमा ! सुनाउँछन् । निकै दवाव छ ’ उहाँले भन्नुभयो । तर उहाँलाई एउटा कुरामा भने गर्व लागेर आउँछ । जुन सडकमा रहेका तथा गरिव परिवारका स–साना बालबालिकालाई शिक्षाको ज्योति छर्न पाएकोमा उहाँ निकै खुशी हुनुहुन्छ । ‘जे जस्तो सुकै समस्या भोग्दै आएपनि बालबालिकालाई ज्ञानको ज्योति छर्न पाउँदा आफुलाई निकै भाग्यमानी ठान्छु ।’

कमला बिष्ट पनि जयदुर्गा आधारभूत विद्यालय राप्ती सोनारी–२ मा २०५८ सालदेखि बाल विकास शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ एकल महिला पनि हो । उहाँका श्रीमान २०६३ सालदेखि वेपत्ता छन् । श्रीमान जिउँदो हुनुहुन्छ कि के छ ? अहिलेसम्म अत्तोपत्तो छैन् । कमलाले १ छोरा र २ छोरीको लालनपालन देखि पढाई सबैको जिम्मेवारी पुरा गर्दै आएनुभएको छ । मासिक ६ हजार आउने तलबले त उहाँको खाजा खर्च पनि पुग्छैन् । त्यसैले उहाँले घरमा कृषि व्यवसाय पनि गर्दै आउनुभएको छ ।

उहाँ जस्ता एकल महिलालाई एकातिर घर परिवारलाई सम्हाल्ने चुनौती हुन्छ भने अर्कोतिर परिवारको खर्च कसरी धान्ने भने तनाव हुन्छ । उहाँ जे जस्तो भएपनि आफ्नो परिवारको स्याहारसुसार गर्दै आउनुभएको छ । ‘यहि ६ हजारले भएपनि जसो तसो घर परिवारको गुजारा चलाईरहेकी थिए । राज्यले यसलाई पनि खोस्ने भयो । अब कसरी घर परिवार पाल्ने ? हामीले जाबो ६ हजार रुपैयाँ मासिक तलब लिएको पनि राज्यले देख्न सकेन् । के हामी यो देशका नागरिक होईनौं र ? होईनौं भने राज्यले नै हामीलाई भनोस तिमिहरु यो देशका नागरिक होईनौं । होईन भने हामीमाथि विभेद किन ?’ उहाँको प्रश्न थियो ।

बाल विकास शिक्षक/शिक्षिकामाथि गम्भीर विभेदः
अहिले नेपालमा श्रमिकको न्यूनतम ज्याला १३ हजार ४ सय ५० रुपैयाँ छ । पारिश्रमिक आधारभूत पारिश्रमिक ८ हजार ४ सय ५५ रुपैयाँ र ४ हजार ९ सय ९५ रुपैयाँ महँगी भत्ता पाउँछन् । तर नेपालमा बाल विकास शिक्षक/शिक्षिकाहरुले त्यसको आधा पनि तलब पाउन सकेका छैनन्, भन्दा अचम्म लाग्न सक्छ । यो कुरा यर्थात हो ।

देशभरका बाल विकासमा कार्यरत ३६ हजार बाल विकास शिक्षक शिक्षिकाहरुले मासिक ६ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउँदैं आएका छन् । २०५१ सालदेखि बाल विकासको सुरुवात भएको थियो । त्यो बेलाको पारिश्रमिक भनेको मासिक ५ सय रुपैयाँ थियो । त्यसको २४ वर्षपछि उनीहरुको तलब ६ हजार मात्रै पुगेको हो ।

प्रारम्भिक बाल विकास केन्द्र (इसीडी) मा अहिले महिलाहरुको संख्या अत्यधिक छ । सुरुमा पुरुष बाल विकास शिक्षक राखिन्थ्यो । उनीहरुले बालबालिकाको स्याहार सुसार गर्न नसकेपछि सरकारले यो जिम्मेवारी महिलाहरुलाई सुम्पिएको थियो ।

महिलामाथि एकातिर थोरै पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । भने अर्कोतिर घरधन्दा पनि उनीहरुकै काधमा छ । त्यसैले आफुहरुको माग सम्बोधन गर्दै उचित व्यवस्थापनको लागि दबाब दिन देशभरका रातह तथा बाल विकास शिक्षकहरु यतिबेला माईतिघर मण्डलामा विरोध प्रदर्शन गरिहेका छन् ।

Logo