उद्घाटनमै बित्छ सङ्घीय मन्त्रीहरुको दिन

उद्घाटनमै बित्छ सङ्घीय मन्त्रीहरुको दिन


काठमाडौँ

नीति निर्माणमा जुटनुपर्ने मन्त्रीहरुको दिन दैनिक उदघाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरू यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरू नै प्रभावित हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर एक बर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरू पनि पूरा गर्न नसकेको भन्दै आलोचनाहरू भइरहेका छन् । यस्तै बेला मन्त्रीहरु हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उदघाटनमै रमाउदै आएका छन् । अधिकाशं मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उदघाटन, सभा समारोहमा बढी समय बिताउँछन् ।

२२ जना मन्त्री र तीन जना राज्यमन्त्री गरी यो सरकार २५ सदस्यीय छ । स्थानीय र प्रदेश सरकार गठन भएर सञ्चालनमा आइसकेको अवस्था छ तर तर बिडम्बना स्थानीय र प्रादेशिक तहका कार्यक्रममा समेत संघीय सरकारका मन्त्रीहरु दैनिकजसो हेलिकोप्टर चार्टर गरेर पुग्ने गरेका छन् ।

उनीहरु उदघाटन लगायतका स–साना कार्यक्रममा जाँदा मन्त्रालयको काम प्रभावित हुनुको साथै राज्यलाई समेत करोडौ व्ययभार पर्दै आएको छ । संघीय सरकारका एक जना मन्त्री दैनिक तीनदेखि पाँच वटा कार्यक्रममा सहभागी हुँदै आएका देखिन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यायनमन्त्री रविन्द्र अधिकारी उ्दघाटन र सभा समारोहमा व्यस्त हुँदै आउनु भएको छ । उहाँ दैनिक दुईदेखि पाँच वटा कार्यक्रममा सहभागी हुने गर्नुभएको छ । संघीय सरकारका मन्त्रीहरुको दौडधुपको कारण प्रदेश सरकार मन्त्री र स्थानीय तहका प्रमुखहरु समेत ओझेलमा परेको गुनासो बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीहरुको ओहोर दोहार बाक्लै हुने गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo