कतारले ओपेकको सदस्यता त्याग्ने

कतारले ओपेकको सदस्यता त्याग्ने


खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे ।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भने, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।”

उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।

“हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ । हाम्रो क्षमता नै ग्यास हो,” मन्त्री साद अल–काबीले भने ।

सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । मन्त्री काबीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए ।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ । रासस

Logo