काठमाडौँ

प्रधानमन्त्री भए लगत्तै केपी ओलीको घोषणा थियो – ‘खाल्डा खुल्डीमा परेर अब कसैले ज्यान गुमाउनु पर्ने छैन । "/>

नागरिकको काल बन्दै महानगरका धराप सडक

नागरिकको काल बन्दै महानगरका धराप सडक


काठमाडौँ

प्रधानमन्त्री भए लगत्तै केपी ओलीको घोषणा थियो – ‘खाल्डा खुल्डीमा परेर अब कसैले ज्यान गुमाउनु पर्ने छैन ।’ प्रधानमन्त्री ओलीले हरेकजसो भाषणमा खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन्छन् । यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उपत्यका भित्रका सबै खाडल पुर्न पटकपटक निर्देशन दिएका थिए ।

शनिबार कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि रहेको खुला मंगालमा परी डल्लुका ३८ बर्से श्यामसुन्दर श्रेष्ठको ज्यान गयो । अँध्यारोका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । उनको काठमाडौैं उपत्यका खानेपानी लिमिटेडको ‘भल्भलिंक’ निकालिएको स्लाबबाट खसेर गएराति मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी अनिलकुमार खड्काले बताए ।

स्थानीयले खबर गरेपछि बिहान ६ बजे पुगेर प्रहरीले श्रेष्ठको शव खाडलबाट निकालेको थियो । ‘हामीले बिहान ६ बजे मात्रै घटनाबारे थाहा पायौं, त्यहाँ पुग्दा श्रेष्ठको मृत्यु भइसकेको थियो’, डीएसपी खड्काले भने ।

केयूकेएलको लापरवाहीले यस्तो घटना भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए । ‘खानेपानीको पाइप लाइनको चाबी बेलाबेला खोल्नु पर्ने रहेछ, तर काम सकेपछि खाल्डो नपुर्दा दुर्घटना भयो’, महर्जनले भने । घटनालाई नगरपालिकाले गम्भीर रूपमा लिएको पनि उनले बताए । ‘अहिलेलाई त त्यो खाल्डो छोपियो। फेरि भोलि त्यस्तो घटना नहोस् भन्नेमा गम्भीर छौं । यो विषयमा नगरपालिकाले भोलि नै छलफल गर्छ’, उनले भने।

मेलम्ची र केयूकेएलका पाइप अव्यवस्थित रहेका कारण जोखिम बढ्दो छ । खानेपानी, ढल निकास, विद्युत र टेलिकमले खनेका खाडल त्यसै छाड्दा घटना हुने गरेका सडक विभागले गुनासो गरेको छ ।

मेलम्चीको काम पूरा नभएसम्म खाल्डा पुर्ने काम नसिकिने समेत विभागले जनाएको छ । गत २०७४ असार ३० गते तारकेश्वर नगरपालिका–१० नेपालटारमा ढलमा परेर ११ वर्षीया विनीता फुयाँलको ज्यान गएको थियो । सोही समयमा सामाखुसीको खुला ढलमा खसेकी १३ बर्षिया सत्या सापकोटालाई स्थानीयले उद्धार गरी बचाएका थिए । समयमै काम नसक्दा उपत्यकाका सडकमा खाल्डाखुल्डी धराप बनेर रहेका छन् । ढल मात्र नभई इनार र खानेपानीका भ्वाङ समेत खुलै छन् ।
अन्नपूर्णबाट

Logo