प्रदेश २ तनावग्रस्त, मन्त्रिपरिषद् कार्यालय तोडफोड

राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नम्बर २ को एसइइ परीक्षा रद्ध गरेपछि प्रदेश नम्बर २ का बिभिन्न जिल्लामा प्रदर्शन भएको छ।  प्रश्नपत्र ‘आउट’ भएको पुष्टि भएसँगै शुक्रबारका लागि तय भएको सामाजिक विषयको परीक्षा रद्द गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

उनीहरुले आफूहरुको भविष्यमाथि खेलबाड गरिएको भन्दै नाराबाजी गरेका थिए ।  जनकपुरको हिमाली, साउथ प्वाइन्ट, मोनाष्टिक, धनुषा पब्लिक, मिट स्कूलका विद्यार्थीले परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।  यस्तै सिरहा, महोत्तरी, सर्लाहीका विभिन्न परीक्षा केन्द्र अगाडि पनि विद्यार्थीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएका छन् ।

आक्रोशित बिद्यार्थीहरुले शिक्षामन्त्रीको राजीनामा मागेका छन्। परीक्षा रद्ध विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन्।

प्रदेश २ को जनकपुरमा प्रदेश सरकारको कार्यालय अगाडि नाराबाजी सहित प्रदर्शन गरिरहेका छन्। आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तोडफोड गरेका छन्। आक्रोशित विद्यार्थीको ढुंगा केही सवारीमा समेत क्षति पुगेको छ।

परीक्षा रद्ध भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन्। आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ। दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन्।