कोरोना बीमा : एक लाखको बीमा गर्दा अब २५ प्रतिशत मात्र पाइने (भिडियो)

कोरोना बीमा : एक लाखको बीमा गर्दा अब २५ प्रतिशत मात्र पाइने (भिडियो)


काठमाडौं ।

बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरेको छ ।

समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा गरेको बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमाङ्क रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए । त्यसबाहेक अस्पतालमा बस्नु परेको खण्डमा भने राहत रकमसहित बिल भर्पाईको आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी दिइने अध्यक्ष चापागाईंले बताए । उनले भदौ २८ गते सम्मका बीमितको हकमा पुरानै व्यवस्था लागू हुने र भदौ २९ गते पछि बीमा गरेका बीमितको लागि मात्रै यो व्यवस्था लागू हुने पनि स्पष्ट पारे । कोरोना बीमाको पुरानै व्यवस्था सहित स्वास्थ्य बीमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको पनि अध्यक्ष चापागाईंले बताए ।

यस्तै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका सबै प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भए बिमाङ्क रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले बताए । उनले पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको र विभिन्न विज्ञहरुको सुझावका आधारमा बीमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको स्पष्ट पारे ।

संशोधित व्यवस्था अनुसार बीमितले एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहत स्वरुप २५ हजार रुपैयाँ पाउनेछ । तर अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भपाई पेश गरेको खण्डमा थप ७५ हजार रुपैयाँ सम्म भुक्तानी हुनेछ । ५० हजार बीमाङ्क रकम भएको पोलिसी खरिद गरेको संक्रमित व्यक्तिले भने राहत स्वरुप १२ हजार ५ सय रुपैयाँ पाउनेछ भने बाँकी अस्पतालको बिल भर्पाई अनुसार ३७ हजार ५ सय रुपैयाँ सम्म पाउने छ ।

Logo