साम्राज्ञी एक वर्षपछि नयाँ चलचित्रमा देखिदैं

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो ।

भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ । टौवा क्रियशनले तयार पारेको पोष्टरमा साम्राज्ञी र पुष्पको प्रेम वुझ्न सकिन्छ । चलचित्रको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । चलचित्रलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ ।

चलचित्र ‘मारुनी’ को बिषयमा निर्मात्री गौतम भन्छिन्–‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा चलचित्र बनाएका छौं । चलचित्रमा थुप्रै ट्विस्ट छन् । चलचित्रले दर्शकलाई छुन्छ ।’ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’ लाई आफ्नो करिअरको महत्वकांक्षी चलचित्र भनेकी छिन् । उनले यस्तो भूमिका यसअगाडि आफूले नगरेको बताइन् ।