अहिंसावादी रेडियो पर्वतमा आगलागी, ३६ लाखको क्षति
" रेडियोको प्रशारण बन्द"

पर्वत,

पर्वत जिल्लाको पुरानो सामुदायिक रेडियो अहिंसावादी रेडियो पर्वत १०३.६ मेगाहर्जको कार्यालयमा मंगलवार राती आगलागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भई आगलागी हुँदा रेडियो स्टेशनका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् ।

आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजन लगायतका सामग्रीहरु पुर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिएका छन् । उनका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राती दुई बजे आगो नियन्त्रणमा लिईएको थियो ।

विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण करेण्ट सर्ट भई आगलागी भएको हो । प्रारम्भिक आँकडा अनुसार करिब ३६ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको शर्माले जानकारी दिए ।

०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासवाट प्रशारण हुँदै आएको सामुदायिक रेडियो पर्वत हाल अहिंसावादी रेडियो पर्वतको नाममा संचालनमा रहेको छ । आगलागी भएपछि रेडियोको प्रशारण समेत बन्द भएको बताइएको छ ।