सञ्जय काउछाको पहिलो कथा संग्रह ‘जिन्दगी’ सार्वजनिक

बुटवल । लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह सार्वजनिक भएको छ । नेपाली चलचित्रका कथा लेखन गर्दै आएका काउछाले पहिलो पटक साहित्यिक कथा संग्रह निकालेका हुन् ।

कथा संग्रहको गजलकार एवं प्राज्ञ बुद रानाले बुटवलमा एक समारोहबीच विमोचन गरेका हुन् । सो अवसरमा बोल्दै प्राज्ञ रानाले हरेक साहित्य मानव जीवनसंग सम्बन्धित र जीवन्त हुनुपर्ने औंल्याउंदै लेखक काउछामा पनि जीवन्त साहित्यीक प्रतिभा रहेको बताए ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार हुमाकान्त पाण्डेले ‘जिन्दगी’ मा रहेका कथाहरु सामाजिक यथार्थतामा आधारित, सरल, रोचक र अनौपचारिक शैलीका भएको बताए ।

त्यस्तै पुर्व सांसद एवं साहित्यकारहरु रामचन्द्र भट्टराई र देबेन्द्र घिमिरेले समाज रुपान्तरणमा साहित्य र साहित्यकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

लेखक काउछाले स्कूल पढ्दादेखि नै साहित्यमा रूची भएको स्मरण गर्दै २०५६ सालदेखि कथा लेख्न शुरु गरेको र २०७५ सालमा दुर्घटनामा परेर अस्पतालमा बस्दाको समयसम्म आठ वटा कथा पुगेपछि पुस्तकका रुपमा प्रकाशन गरिएको बताए । काउछाले यसअघि मगर चलचित्र ‘फेच्र्ह नमखान’ र नेपाली कथानक चलचित्र ‘डु यु लभ मि’ को कथा लेखेका थिए ।