काठमाडौँबाट गएकाे विशेषज्ञ टोलीले सुरू गर्‍याे शव पोष्टमार्टम, एउटैकाे डेढ घण्टासम्म लाग्‍ने

काठमाडौँबाट गएकाे विशेषज्ञ टोलीले सुरू गर्‍याे शव पोष्टमार्टम, एउटैकाे डेढ घण्टासम्म लाग्‍ने

केन्द्रबिन्दु
0
Shares

आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि  गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् । 

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घण्टासम्म समय लाग्ने अस्पतालले जनाएको छ । पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ । 

पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Logo