जीवन बाँच्न गरेको पार्वती बादीको सङ्घर्ष

जीवन बाँच्न गरेको पार्वती बादीको सङ्घर्ष


आँगनको डिललाई किनारा बनाएर बगेको झुप्रा खोलाले उनको जीवनमा सधैँ अलार्मको काम गरेको छ। होस सम्हालेदेखि त्यही खोलाको कलकलाहटले बिउँझिन्छिन् उनी। निरन्तर खोलामा बगेको पानी जस्तै उनको दिनचर्या सुरु हुन्छ ।

उनले जीवनका अठ्चालीसौं वसन्त होइन शिशिर पार गरिसकेकी छिन्। उनको जीवनमा कहिल्यै वसन्त आएन अनि नआएको वसन्त कसरी पार गर्नु ? उनको जीवनमा शिशिर आयो, खडेरी आयो तर वसन्त भने आएन। आज जीवनको यो घुम्तीमा आइपुग्दा उनी तीन जवान छोरी र एक छोराकी एकल आमा हुन्। उनी हुन्, पार्वती बादी। 

मैले ओढेका लुगाहरु गनाउँछन्, फोहोर हुन्छन् भनेर नदिने, त्यसैले म मंसिरको जाडोमा पनि जुटको बोरा ओढेर सुत्थेँ। यो भनिरहँदा उनका आँखा भरि आँशु भरिसकेका थिए तर उनले गहका आँशु गहभित्रै लुकाउने कला सिकिसकेकी रैछन्।

आज पनि उनको दिनचर्या उस्तै छ। उनको दैनिकीहरु तिनै हुन् जो पहिले थिए फरक यति हो। त्यो बेला खोलामा बगेको पानीको कलकल आवाजले बिउँझिन्थिन्, आजकल व्यस्त सडकको  गाडी,मोटरको आवाज र हर्नले बिउँझिन्छिन्।

सानै उमेरमा बिहे गर्नु भएछ नि छोराछोरी त जवान हुँदै हुर्काइ सक्नु भएछ भन्ने मेरो वाक्यांश अन्त्य नहुँदै उनी बोल्न थालिन्, म तेह्र बर्षकी थिँए होला मैले बिहे गर्दा। सानै हुँँदा आमा बितिन्। बाले अर्की आमा बिहे गरे। बा आमाको माया कस्तो हुन्छ कहिल्यै थाहै पाइनँ। सौतेनी आमाले पेटभरी खाना र तातोमा सुत्न कहिल्यै दिइनन्। मैले ओढेका लुगाहरु गनाउँछन्, फोहोर हुन्छन् भनेर नदिने, त्यसैले म मंसिरको जाडोमा पनि जुटको बोरा ओढेर सुत्थेँ। यो भनिरहँदा उनका आँखा भरि आँशु भरिसकेका थिए तर बाहिर भने आउन दिइनन्। उनले गहका आँशु गहभित्रै लुकाउने कला सिकिसकेकी रैछन्।

झुप्रा खोलाको बालुवा र गिट्टी उनीहरुको जीवन धान्ने एक मात्र थलाे थियो। उनीहरुको मात्र नभई समग्र झुप्रावासीको नुनदेखि सुनको खानी यही झुप्रा खोला थियो र छ। 

सानै उमेरमा आमा गुमाएकी पार्वती बादीको बाल्यावस्था पनि दुखमै बित्यो। सौतेनी आमाको सौतेलो  व्यवहार सहन नसकेर सानै उमेरमा बिहे गरेको उनले बताइन्। दु:खकष्ट र अभावहरु हुँदाहुँदै पनि  श्रीमानले माया गर्थे। चार सन्तान कि आमा बनिसकेकी उनी आफ्ना श्रीमानसँग अभावका बिचमा पनि खुशी थिइन्। झुप्रा खोलाको बालुवा र गिट्टी उनीहरुको जीवन धान्ने एक मात्र थलाे थियो। उनीहरुको मात्र नभई समग्र झुप्रावासीको नुनदेखि सुनको खानी यही झुप्रा खोला थियो र छ। 

झुप्राखोला सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका भित्र पर्छ जहाँ बादी समुदायले आफ्नो जीवन यापनका लागि बस्ती बसाएका छन्। त्यही मध्येकी एक हुन् पार्वती र उनको परिवार। बालुवा चालेर छाक टार्नु उनीहरुको बाध्यता हो। 

उनी शरण लिन श्रीमानका आफन्तहरु कहाँ गइन् तर त्यहाँ पनि उनले भने जस्तो साथ पाइनन् बरु उल्टै कलिलो उमेरमै एक्लो भएका कारण आफ्नै भतिजा पर्नेले बारम्बार देह व्यापारमा लाग्न लोभ लालच देखाउन थाले, धम्की दिन थाले ।

अभाव भएतापनि जिन्दगी चल्दै थियो। उनका श्रीमान अचानक बिरामी परे। सिकिस्तै भएपछि घर र थोरै भएको जग्गा पनि बेचेर श्रीमानको उपचारमा लगाइन तर पनि उनले श्रीमानलाई बचाउन सकिनन्। उनको जीवनमा फेरि अर्को वज्रपात प-याे। उनी कलिलो उमेर एक्लो भइन्। एक्लो मात्र होइन बेघर पनि भइन्। चार जना छोराछोरीको जिम्मेवारी उनको एक्लो काँधमा आइप-याे। भएको सम्पत्ति श्रीमानको उपचारमा सकियो र श्रीमान पनि रहेनन्।

उनीसँग केही विकल्प नभएपछि उनी शरण लिन श्रीमानका आफन्तहरु कहाँ गइन् जो बर्दियामा थिए तर त्यहाँ पनि उनले भने जस्तो साथ पाइनन् बरु उल्टै कलिलो उमेरमै एक्लो भएका कारण आफ्नै भतिजा पर्नेले बारम्बार देह व्यापारमा लाग्न सल्लाह दिन थाले, लोभ लालच देखाउन थाले । उनी लोभमा नआएपछि धम्की पनि दिन थाले।  त्यसपछि उनलाई त्यहाँ बस्न उचित लागेन आफू र आफ्ना हुर्किँदै गरेका छोरीहरुको जिन्दगी जोगाउन फेरि उनी झुप्रामै आइन्।

पार्वतीको जीवनमा झुप्रा खोलाको ठुलै योगदान रहेको छ। बालुवा र गिट्टीसँगै छोराछोरीको जिम्मेवारी पनि आफ्नो एक्लो काँधमा बोकिन् उनीले। बालुवा र गिट्टीसँगै उनले गाउँकै सामुदायिक विद्यालयमा सरसफाई कर्मचारीको रुपमा दिलो ज्यानले काम गर्न थालिन्। सुरुमा उनको तलब जम्मा दुई सय रुपैयाँ थियो तर उनका सपना भने करोडौँका थिए। उनले आफू पढ्न नपाएका सपनाहरु आफ्ना छोराछोरीहरुमा  पूरा गर्ने अर्को सपना बुन्दै दिन रात मेहेनत गर्न थालिन् ।

सुरुसुरुमा स्कूलमा सर मिसले कुनै फाइल माग्दा उनी अलमल्ल पर्थिन् । सफा गर्दा  किताबहरु पनि उल्टोपाल्टो राख्दिन्थिन। हाजिर गर्दा पनि कहिले अरुकैमा गर्दिने त कहिले अघि पछि गरिदिएर थुप्रै पटक गालि खाएका खल्ला किस्साहरु पनि उनले सुनाइन् । यी सबै घटनाहरुले उनका छोराछोरी पढाउने सपनामा पंखा लगाउने काम गरे। उनको आफू जस्तो भएपनि छोराछोरीहरुलाई पढाउने संकल्पले जित्यो ।

कलिलै उमेरम एक्लो परेकी पार्वतीको जीवनमा सपना देखाउने मान्छे नआएका होइनन् तर उनले दोस्रो विवाहको बारेमा कहिलै सोचिनन्। उनीले आमा नहुँदा आफूले बाँचेको बाल्यकाल सम्झिन् र छोराछोरी छोड्ने आँट कहिल्यै गरिनन्। घरदेखी स्कूलको (करीब ३ किलोमिटर)को दुरीलाई मात्र संसार सोच्ने उनी बादी बस्ती भित्रै हुर्केको भएता पनि काम गर्ने  ठाँउ होस् या त समाजमा जातिय विभेदको बर्बरता महसुस नगरेको भने पक्कै होइन।

उनी भन्छिन्, हामी पनि मेहेनत गरेरै खान्छौँ। आफ्नै  रगत पसिनामा बाँच्छौँ तर समाजले भने हामीलाई सधै अमानवीय व्यवहार गर्छ ।

झुप्रा खोलादेखी स्कुलसम्म मात्र  सिमित रहेको उनको पूरै जिन्दगीले बाहिरी दुनियाँ बुझेको छैन। तर त्यही छोटो दुरीमा उनले आफ्नो सिँगो जीवन र जगतलाई बोकेकी छिन्। उनले यसरी नै छोराछोरी हुर्काइन्,बढाइन् र पढाइन् पनि अहिले सबै जना राम्रै ठाँउमा छन्।

उनी सम्झिन्छिन्  काम गर्न थालेकै झण्डै झण्डै तीन दशक हुन लागे छ। आजको जीवन देखेर उनी दंग छिन्। आफ्नाे रगत पसिनामा पढाएका, हुर्काएका छोराछोरीले आज जग्गा किनेर शहरमा सानो घर बनाइदिएका छ्न्। आफ्नो जिन्दगीसँग त उनी आज खुशी छिन् तर गुनासो भने निकै छ आफ्नो समाजसँग । उनी भन्छिन्, हामी पनि मेहेनत गरेरै खान्छौँ। आफ्नै  रगत पसिनामा बाँच्छौँ तर समाजले भने हामीलाई सधै अमानवीय व्यवहार गर्छ ।

उनी सभ्यता मात्र होइन, कुरीतिको मलामी बन्न पनि सक्छिन् अनि अन्धविश्वासको लास पनि बोक्न सक्छिन्। उनी आजकी पार्वती हुन्।

आफ्ना जीवनका हरेक पाइलाहरुमा सङ्घर्ष गरेकी पार्वती त प्रतिनिधि पात्र मात्र हुन् । सिंगो सभ्यतालाई नाङ्गाे पैतालाले आफ्नो काँधमा बोक्नसक्ने उनी कलियुगकी पार्वती हुन् । उनी सभ्यता मात्र होइन, कुरीतिको मलामी बन्न पनि सक्छिन् अनि अन्धविश्वासको लास पनि बोक्न सक्छिन्। उनी आजकी पार्वती हुन्।

Logo