व्यवसायी कँडेल मृत्यु प्रकरण: आरोपी जीवन रावल पक्राउ

व्यवसायी कँडेल मृत्यु प्रकरण: आरोपी जीवन रावल पक्राउ

केन्द्रबिन्दु
0
Shares

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । 

भरतपुर महानगरपालिका-८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। रातिनै उनलाई चितवन ल्याइएको छ। आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए। 

भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो। कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्। सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन्।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए।

कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए। नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली काँग्रेसका महासमिति सदस्यसमेत थिए। 

काँग्रेससहित उद्योगी व्यवसायीको अगुवाइमा बुधबार र बिहीबार भरतपुरमा बृहत् प्रदर्शन भएको थियो। कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेका  छन्।

Skip This
Skip This
Logo