भक्तपुरमा जिब्रो छेड्ने जात्राः बालकराम नानी श्रेष्ठले छेडे दोस्रो पटक जिब्रो

भक्तपुरमा जिब्रो छेड्ने जात्राः बालकराम नानी श्रेष्ठले छेडे दोस्रो पटक जिब्रो

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा मनाइँदैछ। यसवर्ष मध्यपुर थिमि नगरपालिका– ५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्।

यसअघि उनले पहिलो पटक २०७५ सालमा जिब्रो छेडेका थिए। जिब्रो छेड्ने दिन जिब्रो छेड्ने व्यक्तिले दुता नं जामा लगाएर बालकुमारीमा पूजा गरिन्छ। 

यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नु पर्दछ। जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। 

त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु जामनः थरका व्यक्तिको उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पुर्‍याइन्छ। 

सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ। जिब्रो छेडेपछि झण्डै ४० किलोग्रामको भ्ये (महादीप) बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ। 

यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पैदलै पशुपति गएका छन्। 

जिव्रो छेडिसकेपछि यसवर्ष मध्यपुर थिमि नगरपालिका ५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ष गणेश मन्दिर दर्शनसँंगै सिद्धिकाली माइको मन्दिर भई सिद्धिकाली चोक हुँदै उनी  पशुपति हिडेका हुन्। 

त्यहाँंबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँंदै एयरपोर्ट १० नम्वर गेट, सान बैंक्वेट चोक हुँदै एयरपोर्टसँंगैको बाटो हुँंदै गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्सन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।  राति नै पैदल हिँडेर हुने यो यात्रा आवत र जावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौँसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ। 

इच्छाएको ठाँउमा परिक्रमा गरेपछि मध्यपुर थिमिको बालकुमारी मनिदरमा पुगी कमी नायोले सुइरो निकालिन्छ। सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः(नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ। 

बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने गरिन्छ। त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ। भोज खाईसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्ने गरिन्छ।

Skip This
Skip This
Logo