काठमाडौं । कोरोना भाइरस रिमुभिङ कार्डले कोरोनाबाट बचाउछ भन्ने प्रमाणित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङमा रिमुभिङ कार्डले भाइरसको संक्रमणबाट जोगाउने भन्ने भ्रम मात्र भएको स्पष्ट पारेको छ । मन्त्रालयले यसको प्रयोगले उल्टो मानिसमा मुटु, फोक्सा लगायतका अंगमा गम्भीर असर पर्न सक्ने चेतावनी समेत दिएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ भन्दै बाँडेपछि यो कार्ड चर्चामा आएको थियो ।
शुत्रबार नेपालले बाँडेको कार्डलाई नेकपा कै नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए । यसरी भाइरस रिमुभिङ कार्ड भिरेर नेकपाको स्थायी कमिटी बैठकमा उपस्थित भएपछि शुत्रबारबाट सामाजिक सञ्जालदेखि नेपाली मिडियामा चर्चा परिचर्चा सुरु भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले यो कार्डले कोरोना संक्रमणबाट नजोगाउने प्रष्ट पादै भने–‘कोरोना भाइरस विश्वमा नै फैलिएकाले यस्तो उपाय सबैलाई आवश्यक भए पनि अहिलेसम्म भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई आउँदैनथ्यो होला । त्यसैले यस्तो अनावश्यक हल्लाको भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’





























प्रतिक्रिया