भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडी ।

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

नालामा डुबेर मृत्यु

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर मृत्यु भएको हो ।

स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन नसकिएको स्थानीय भाष्कर केसीले बताए । चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ । चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन् । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।रासस

Logo