काठमाडौं ।
विभिन्न खाले माग राख्दै माइतीघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गर्थ्यो । तर, मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए । तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियानमा जुटेका थिए ।
लकडाउन सुरु भएसँगै कोरोना संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कार्य गर्दै आएको काठमाडौँ महानगरपालिकाले थालेको यो अभियानमा मंगलबार करीब ४० जनाको हाराहारीमा नगर प्रहरी सामाजिक दूरी कायम गर्दै सरसफाई अभियानमा सक्रिय भए ।

लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौन्दर्य बिगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, मरेका बोट–बिरुवा उखेल्ने जस्ता कामको थालनी गरेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । ‘पहिलो चरणमा अरनिको राजमार्ग अन्तर्गत माइतीघर मण्डलादेखि तीनकुनेसम्मको क्षेत्रमा पर्ने सडकको दायाँ–बायाँ किनारा र बीचमा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने, झार उखेल्ने र सडकको सौन्दर्यलाई कायम राख्ने योजनाका साथ अघि बढेका छौँ,’ सापकोटाले भने, ‘अहिले लकडाउन केही खुकुलो भएसँगै गाडीहरुले लतारेका बोट–बिरुवाका हाँगा छाँटकाँट गर्ने, सुकेका हाँगाहरु झिक्ने, मरेका बिरुवा उखेल्ने लगायतका काम गरेका छौँ ।’

सापकोटाले लकडाउनको अवधिमा सडकहरु बेवारिसे छाड्दा शहरी सौन्दर्यता नै बिग्रिने भएकाले सरसफाईको कामलाई प्राथमिकता दिएको जानकारी दिए । ‘महानगरले आफ्नो क्षेत्र भित्र परेका यी स्थानको सरसफाई थालेको हो,’ उनले भने, ‘अबका दुई–तीन दिन भित्र तीनकुनेसम्म क्लीयर गर्ने योजना छ ।’ पहिलो दिनमै छाँटकाँट गरेका हाँगा–बिगा र भूईंको झार उखेल्दा निस्किएको नौ टिपर फोहोर टेकु पठाएको जानकारी दिए ।





























प्रतिक्रिया