कोरोना भाइरसको प्रभावले देखिएका फाइदाहरू

कोरोना भाइरसको प्रभावले देखिएका फाइदाहरू

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, ‘हरेक कुराको पछाडि सकारात्मक र नकारात्मक प्रभाव हुन्छ ।’ कोरोना भाइरसले यतिबेला विश्व समुदायको टाउको दुखाइरहेको छ । यो भाइरसको प्रकोपले विश्व समुदायको जीवनशैली प्रभावित भएको छ । यसले विश्वको अर्थव्यवस्थालाई अस्तव्यस्त बनाएको छ । तर, यो भाइरसले अप्रत्यक्षरुपमा केही फाइदाहरु पनि पुर्‍याएको देखिन्छ ।

नमस्कार संस्कारको विश्वव्यापी प्रयोग

पुर्वीय सभ्यतामा अभिवादनका लागि नमस्कार गर्ने संस्कार छ । कोरोनाको प्रभावसँगै यो संस्कार अहिले विश्वव्यापीरुपमा प्रचलनमा आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री लिओ भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेका थिए । राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको भेटघाटमा उनीहरूले एक अर्कासँग हात मिलाउनुको साटो नमस्कार गरेका हुन । उनीहरुको यो भिडियोे अहिले सामाजिक सञ्जाल र अनलाइनहरुमा भाइरल भइरहेको छ ।

त्यस्तै बेलायतका राजकुमार चाल्र्सले पनि भेटका क्रममा नमस्कार गर्न थालेका छन् । इजरायली प्रधानमन्त्री बेल्जामिन नेतन्याहुलले कोरोना भाइरसबाट बच्नको लागि नमस्कार गर्नुपर्ने बताएका छन । हाल विश्वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भाइरल बनिरहेका छन् ।

पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि नमस्ते संस्कार नै स्थापित छ ।

प्रदुषणमा कमी

कोरोना भाइरसको प्रकोप सुरु भएको चीनमा वातावरण प्रदुषणमा कमि आएको चीनीयाँ सञ्चार माध्यमले समाचार प्रशारण गरेका छन् । कोरोना भाइरसको प्रकोपले गर्दा ठूला ठूला उद्योग बन्द हुनु र सडकमा सवारीसाधन कम हुँदा वातावरण प्रदुषणमा कमि भएको उनीहरुको दावी छ । विश्वको वातावरण प्रदुषण नियन्त्रणमा  कोरोना भाइरसले अप्रत्यक्ष भूमिका खेलेको देखिन्छ ।

पारिवारिक मिलन

पछिल्लो समय मानिसहरु निकै व्यस्त जीवनशैली बिताउँन थालेका छन् । जसले गर्दा उनीहरुसँग पारिवारिक समय कम छ । तर, कोरोना भाइरसको प्रकोपसँगै सबैजना घरमा बस्न थालेका छन् । उनीहरू आफ्नो आफन्त र परिवारका सदस्यहरुसँग बस्न थालेका छन् । यसले पारिवारित आत्मियता बढ्न पुगेको छ ।

रोजगारी 

यो भाइरसले विश्वको अर्थव्यवस्था नै अस्तव्यस्त बनाएको छ । कलकारखाना बन्द भएका छन् भने वितरण प्रणालीमा प्रत्यक्ष असर परेको छ । जसले गर्दा विश्व समुदायको जीवनशैलीमै असर परेको छ । तर, औषधिजन्य तथा सरसफाईका लागि प्रयोग गरिने सामग्रीहरूको उत्पादन र बिक्रि बढेका छन् ।

अष्ट्रेलियाका नेपालीलाई काम गर्ने समय थप

कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक उपभोग्य सामानको किनमेललाई सहज गर्न अष्ट्रेलिया सरकारले सुपरमार्केटमा कार्यरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई काम गर्ने समय थप गरेको छ । अध्यागमन, नागरिकता तथा बहु सांस्कृतिक मामिला कार्यवाहक मन्त्री एलन टजले आम जनताको सुविधालाई हेरेर कर्मचारीहरूको कमी हुन नदिन विद्यार्थीहरूले पनि पहिलेको भन्द्या थप केही घण्टा काम गर्न पाउने व्यवस्था ल्याएको बताएका छन । त्यहाँ विद्यार्थीहरूले हप्तामा २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था हुने गरेकोमा अब त्यो केही समयका लागि बढाइने निर्णय गरिएको छ ।

सचेतनाको पाठ

कोरोना भाइरसले एउटा सचेतनाको पाठ पनि सिकाएको छ । भाइरसले महारमारी लिँदा कसरी जोगिने र त्यसका लागि के कस्तो पूर्वतयारी गर्ने भन्ने विषयमा विश्व समुदायलाई सचेत बनाएको छ । त्यस्तै कोरोना भाइरसको उपचारका लागि विभिन्न अनुसन्धानहरू भएका छन् । जसले मेडिकल जगतलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । नेपालमा पनि रक्सीबाट स्यानिटाइजर बनाउने तालिमहरू शुरू भएका छन्  ।

 

नोट: यो सामग्री जानकारीका लागि मात्रै प्रकाशन गरेका हौँ । केही अप्रत्यक्ष फाइदालाई दर्शाएर प्रत्यक्ष फाइदालाई ओझेल पार्ने हाम्रो प्रयास होइन । कोरोना जस्ता भाइरसहरूको पूर्णरूपमा निराकरणका लागि विश्व समुदाय एकजुट हुन् जरुरी छ  । 

Logo