जिङ्रिङ्ग परेको अस्तव्यस्त कपाल, फुलेको दाह्रि, सल ओढेका एक व्यक्तिले पशुपति परिसरमा झाडुले बढारीरहेको देखिन्छ । उनीसँगै सहभागिहरु पनि सरसफाइमा जुटिरहेको देखिन्छ । यसरी अचानक सरसफाइमा अग्रसरता देखाउने व्यक्ति हुन् पूर्व राजकुमार पारस शाह ।
विभिन्न विवादका कारण चर्चामा आइरहेने पारस यसपटक भने राम्रो काम गरेर सामाजिक सञ्जालमा छाइरहेका छन् । उनको यो कार्यलाई उनका सहयोगीहरुले मुलुक र राष्ट्रियतासँग जोडेका छन् ।
युवराज पारसले झाडु लगाएर फोहोर सफा गर्दै गर्दा उनका सहयोगी भनिरहेका हुन्छन्, ‘देशको फोहोर बढार्न सबैजना युवराज पारस जसरी सडकमा आउनुपर्छ ।’ यो भिडियो सार्वजनिक भएपछि समाजिक सञ्जालमा पारसको बारेमा टिका टिप्पणी शुरु भएका छन् । केहीले पारसको यो क्रियाकलापलाई सहयोगीहरुको हर्कतका रुपमा टिप्पणी गरेका छन् भने कतिपयले पारसको नौटंकीका रुपमा टिप्पणी गरेका छन् ।
केहि महिना अघि पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई दुर्व्यबहार गरेका थिए । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौती दिएका थिए ।
विगतमा उनको व्यवहारबाट पनि नेपाली नागरिक आजीत छन् । गायक प्रवीण गुरुङ्ग हत्या प्रकरण देखि लागुऔषध सेवन लगायत विभिन्न घटना मुछिएका पारशलाई लागुऔषधका अम्मली मात्रै नभई ओसारपसारमा समेत संलग्न भएको आरोप छ । उनको हृदयघाट भएपछि भने नागरिकले सहानुभूती जनाउँदै आएका थिए ।
पछिल्लो समय राप्रपाको एकता र तिनले राजसंस्था सहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने तयारी गरिरहँदा पूर्व युवराज पारसलाई समेत उनका समर्थकहरुले विभिन्न गतिविधिमा सरिक गराउन थालेका छन् । यसले पारस सुध्रिएर राजनीतिमा आउँछन् वा यो एउटा समर्थकहरुको प्रपोगण्डा मात्र हो भन्ने चाहिँ समयले नै बताउँला ।





























प्रतिक्रिया