प्रहरीको गाडीमा ट्राफिकको ‘ह्वील लक’

प्रहरीको गाडीमा ट्राफिकको ‘ह्वील लक’

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरीले पछिल्लो समय कडाइका साथ ट्राफिक नियम लागू गरिरहेको छ । यसैक्रममा सोमबार अनामनगरमा नेपाल प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले ‘ह्वील लक’ गरिदिएको छ ।

सडक ढाकेर रोकिएको उक्त गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीम ढकालले नियम मिचेर सवारीसाधन पार्किङ गर्ने जो कोहीलाई पनि कारवाही गरिने जानकारी दिए ।

पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने ठूला सवारीसाधनमा ‘ह्विल लक’ लगाउने गरेको छ । यसअघि गत असारमा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै गृह मन्त्रालयका तत्कालिन प्रवक्ता रामकृष्ण सुवेदीको बा २ झ ४३८८ नम्बरको गाडीमा ‘ह्वील लक’ गरेको थियो ।

त्यसबखत ट्राफिक प्रहरीले प्रवक्ता सुवेदीलाई १ हजार रुपैंया जरिवानाको चिट समेत काटिएको थियो । उनी सडक किनारमा गाडी पार्किङ गरेर खाना खान गएका थिए । प्रवक्ता सुवेदीको गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरी जवान टिकाराम बुढा र कमलेश कुमारलाई युवाहरुले सडकमै सम्मान गरेका थिए ।

काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ ।

Logo