रमागृह भवन भाडा प्रकरणमा मुछिए तारागाउँ समितिका पूर्व अध्यक्ष लुइँटेल

रमागृह भवन भाडा प्रकरणमा मुछिए तारागाउँ समितिका पूर्व अध्यक्ष लुइँटेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,  २०७६ मंसिर २५ । तारागाउँ विकास समितिले राज्यको सम्पत्ति दोहन गरेको पटक पटक समाचार सार्वजनिक भइसकेको छ । पछिल्लो पटक यही समिति अन्तर्गत रहेको न्युरोडको रमागृह भवनको सवा एक करोड रुपैयाँ भाडा प्रकरण विवाद बाहिर आएको छ । रमागृहको भवनको भुइँतल्ला र दोस्रो तल्लामा रहेका सप्लायर्सहरूले भाडा नतिरेको भन्दै समितिले पत्र काटेपछि रमागृह भवनको भाडा असुलीमा समेत कसरी भ्रष्टाचार भइरहेको छ भन्ने प्रमाण बाहिर आएको हो । अहिले समितिले सप्लायर्सहरूलाई लेखेको पत्र अनुसार पनि एउटै भवनको २ छुट्टै तलाबाट सवा करोड रुपैयाँ रकम नउठेपछि ताकेता गरिएको छ । स्रोतका अनुसार समितिका पूर्व अध्यक्ष नारदकुमार लुइँटेलले रमागृह भवनबाट मासिक डेढ लाख रुपैयाँसम्म असुलेर नियम अनुसार भाडा नलिँदा सप्लायर्सहरूको बक्यौता बढ्न गएको हो ।

समितिले सप्लायर्सहरूलाई काटेको केही पत्रमा मात्रै मंसिर महिनासम्म सवा १ करोड रुपैयाँ बक्यौता देखिन्छ । बक्यौता देखिएका सप्लायर्सहरूमा श्री अजन्ता इन्टरप्राइजेज बाट ८ लाख १६ हजार रुपैयाँ, पिंकी इन्टरनेशनल नयाँ सडक काठमाडौ १२ लाख ६७ हजार रुपैयाँ, श्री सुलक्स सेन्टरबाट १४ लाख १३ हजार रुपैयाँ, श्री चाँगेस्थान सप्लायर्स प्रालि ७८ लाख ५६ हजार रुपैयाँ देखिन्छ । समितिले श्री चड्डीस्थान सप्लायर्स प्रा.लि. बालुवाटारलाई काटेको पत्रमा भने रकम खुलाइएको छैन ।

मंसिर ३ गते समितिको अध्यक्ष पद सम्हालेका प्रल्हाद न्यौपानेसँग केन्द्रबिन्दुले राखेको जिज्ञासमा पूर्व अध्यक्ष लुइँटेलले भाडा मिनाहा गरिदिन्छु भनी मौखिक सम्झौता गरेको पाइएको बताए । न्यौपानेले आफू अध्यक्षमा आएपछि पनि पूर्व अध्यक्षले कार्यालयका सबै हिसाब किताव सहित हस्तान्तरण नगरेको कारण कहाँ कहाँ के कति रकम हिनामिना भएको छ भन्ने अहिले नै जानकारी नभएको बताए । राज्यको सम्पत्ति अध्यक्षले मिनाहा गरेर मिनाहा नहुने भन्दै न्यौपानेले रमागृह भवन मात्र नभई अन्य क्षेत्रमा असुल उपर गर्न बाँकी रहेको सबै बक्यौता असुल उपर गर्न आफू लागिपरेको बताए ।

०३६ सालमा सर्लाही, हरिवनमा जन्मिएका लुइँटेल पर्यटन व्यवसायमा सम्बद्ध छन् । उनले सक्सेस ट्राभल्स एन्ड टुर्स सञ्चालन गरिरहेका छन् । राष्ट्रिय पर्यटन व्यवसायी संगठनको सचिवालय सदस्यसमेत रहेका लुइँटेल विगतमा विभिन्न कलेजहरूमा प्राध्यापन गर्थे । तर समितिमा अध्यक्ष बनेपछि भने उनले होटल हायातबाट समितिलाई फाइदा नभए भन्दै रमागृह भवनबाट मनग्य फाइदा हुने बताउँदै आएका थिए । तर लुइँटेलमाथि नै आफैंले भाडा मिनाहा गरिदिन्छु भन्दै भित्री रूपमा असुल गरेको आरोप लागेको छ ।

Logo