जीर्णोद्वारको अभावमा मासिँदै पाँचथरका धार्मिकस्थल

जीर्णोद्वारको अभावमा मासिँदै पाँचथरका धार्मिकस्थल

केन्द्रबिन्दु
0
Shares

पाँचथर ।

जीर्णोद्वार नहुँदा पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाको सिमानामा अवस्थित साझा धार्मिकस्थल ‘बुढीथाम’ को पहिचान मासिने अवस्थामा पुगेको छ ।

फिदिम नगरपालिका १२ र १३ तथा फालेलुङ गाउँपालिका– ६ को सीमामा अवस्थित बुढीथाम मन्दिर भत्किएको वर्षौं बितिसक्दा पनि जीर्णोद्वार नहुँदा मन्दिरको अस्तित्व नै सङ्कटमा परेको हो । दुई स्थानीय तहको सिमानामा रहेको बुढीथाम मन्दिरको संरक्षण र जीर्णोद्वारमा स्थानीय सरकारको प्रयाप्त चासो पुगेको छैन । संरक्षणमा सक्रिय हुनुपर्ने स्थानीय सरकार सहकार्यको अभाव तथा परम्परागतरुपमा मन्दिरको मर्मत र रेखदेख गर्ने स्थानीयवासीको समेत चासोको अभावमा मन्दिर जिर्णाेद्वार हुन सकेको छैन । यो मन्दिर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा धार्मिकस्थलका रुपमा रहेको छ ।

बुढीथाम पुग्न फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्का–थुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिंढी मार्ग बनाइएको छ । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार ७०० मिटर लामो सिंढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ । ढलान नगरिएको सिंढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिछ्याएका छन् । सिंढीमार्ग टुङ्गिएपछि गोरेटो बाटो हुँदै बुढीथाम मन्दिर रहेको स्थानमा पुगिन्छ । यो सिंढीमार्गको पल्लोपट्टि फिदिम नगरपालिका–१३ बाघखोर भञ्ज्याङबाट पनि ढलान सहितको सिंढीमार्ग निर्माण थालिएको छ । मन्दिर रहेको डाँडाको शीरमा समथर परेको स्थानमा दृष्यावलोकन खम्बा (भ्यू–टावर)निर्माण भइरहेको छ । भ्यू–टावरको एक तला ढलान भइसकेको छ ।

यतिका संरचना निर्माण भइरहे पनि निर्माणाधीन भ्यू–टावरको अघिल्तिर लथालिङ्ग अवस्थामा रहेको मन्दिर र मन्दिरको कुण्ड बेवारिसे छ । बुढीथाममा सहायक संरचनाका लागि लाखौँ लगानी भए पनि मुख्य संरचना भग्नावशेषमा परिणत हुन लागेको हो ।

सरकारी निकायले मन्दिर लक्षित सहायक संरचना निर्माणमा लाखौँ रुपैयाँ लगानी गरिसकेका छन् । तर सिमानामा परेका कारण जीर्णोद्वार र संरक्षण नहुँदा धार्मिक महत्व बोकेको बुढीथाम पहिचान मेटिने अवस्थामा पुगेको हो । जीर्णोद्वार र संरक्षण गर्ने विषयमा दुई स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा यस्तो अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

विगतमा यहाँ धार्मिक अनुष्ठान हुँदै आएकामा पछिल्लो समय त्यस्ता गतिविधि नभएपछि यो स्थानको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पहिचान मेटिने अवस्था आएको हो । वि.सं. २०७२ को भूकम्पले भत्किएको मन्दिरको संरचना त्यसपछि संरक्षण र जीर्णोद्वार नहुँदा लथालिङ्ग अवस्थामा पुगेको फालेलुङ गाउँ कार्यपालिकाका सदस्य पनिता राईको भनाइ छ ।

जीर्णोद्वार र संरक्षणको अभावले मन्दिरका संरचना मासिने र मन्दिरको धार्मिक महत्वसमेत ओझेलमा पर्दै जाने स्थानीयवासीको चिन्ता छ ।

संरचना निर्माणमा विवाद

फालेलुङ–६ की तारावती राईका अनुसार फालेलुङ र फिदिमको सिमानामा परेकाले संरचना निर्माणमा विवाद भएको थियो । तर निर्माण उपभोक्ता समितिमा दुवै तर्फबाट प्रतिनिधित्व गराई संरचना निर्माण थालियो । अन्य संरचना निर्माणको कामले गति लिए पनि मन्दिरमा ध्यान नपुगेको उनको गुनासो छ । “अलपत्र अवस्थामा पुगेको संरचनाको जीर्णोद्वार र संरक्षणका लागि अब माथिल्ला सरकारले अनुगमन र बजेट विनियोजन गर्नुपर्छ”, राईले भने, “बुढीथाम आफैँमा रमणीय त छ नै यसको धार्मिक महत्वसमेत विशिष्ट छ ।” मन्दिरको जीर्णोद्वारमा प्रभावकारी पहल हुन नसकेको राईको भनाइ छ । फालेलुङ–६ तालखर्कका कमल गुरुङ बुढीथामलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखेर काम गर्दै आए पनि पुराना संरचनाको जीर्णोद्वार र संरक्षण गर्न समस्या भएको बताउँछन् ।

फालेलुङ–६ का वडाध्यक्ष सुजाता बान्तवा यहाँ संरचना निर्माणका लागि उपभोक्ता समिति गठनका क्रममा क्षेत्रगत विवाद हुने गरेको बताइन् । “धेरै मेहनत गरेर सहजीकरण गरी दुवै स्थानीय तहबाट निर्माणका काम अगाडि बढाएका छौँ”, वडाध्यक्ष बान्तवाले भनिन्, “फालेलुङ–६ ले सबैभन्दा बढी महत्व दिएर काम गर्दै आएको छ । यद्यपि मन्दिरको जीर्णोद्वार नहुँदा अस्तित्व नै सङ्कटमा पर्ने र पहिचान मासिने हो कि भन्ने लागेको छ ।” डाँडासम्म निर्माण सामग्री पुर्याउन ढुवानीको समस्याले भ्यू–टारसहितका संरचना निर्माण कार्यले गति लिन सकेको छैन । सिंढी निर्माणमा करीब रु १५ लाख तथा टावर निर्माणमा करीब रु १८ लाख खर्च भइसकेको छ । विगतमै प्रख्यात भएको ठाउँको प्रवर्द्धनले धार्मिक पर्यटन विकासमा धेरै काम हुनसक्ने विश्वास राखिएको र मन्दिरको मर्मत नै मुख्य कुरा आवश्यकता रहेको वडाध्यक्ष बान्तवा बताउँछिन् ।

बहुधार्मिक गन्तव्य

फालेलुङ–६ का कमल गुरुङका अनुसार सेतै फूलेकी एक बूढी महिला सिक्का सुकाएर बसेको अवस्थामा भेडा गोठालाले देखेको किंवदन्तीका आधारमा यस स्थानको नाम बुढीथाम रहन गएको हो । यद्यपि अहिले यस स्थानलाई बुढीथान र बुढीधामसमेत भन्ने गरिएको छ । विगतमा यहाँ दुई वटा पोखरी रहेको स्थानीयवासी विश्वास गर्ने गर्छन् । घना जङ्गल रहेको यस स्थानमा विगतमा अजिङ्गरसमेत देखिने गरेकाले प्रत्येक वर्ष उधौलीको समयमा यहाँ पूजापाठ गर्ने गरिएको थियो । यहाँ राई, लिम्बू, गुरुङ, ब्राह्मण, क्षेत्रीलगायत जातजातिले समान आस्था र विश्वासले पूजा पाठ गर्ने गरेका छन् । यस स्थानमा महागुरु फाल्गुनन्दले तपस्या गरेको तथा यो स्थानमा भगवान्को बास रहेको भनि सन्देश दिएको स्थानीयवासी बताउँछन् । फालेलुङ–६ का ठिमकुमार गुरुङ बुढीथामलाई सबै धर्मावलम्बीले समान आस्था र विश्वास गर्ने हुँदा यसलाई नमूना धार्मिक गन्तब्यको रुपमा विकास गर्नसके राम्रो सन्देश प्रवाह हुनसक्ने बताउँछन् ।

“सबैले समान आस्था राख्ने विरलै स्थानमध्येमा बुढीथामसमेत रहेकाले यसलाई माथिल्ला सरकारले विशेष ध्यान दिनुपर्छ”, गुरुङले भने । जीर्ण मन्दिरभित्र गाई आकृतिको ढुङ्गा छ । फिदिम–१३ का स्थायी बासिन्दासमेत रहेका जिल्ला समन्वय समिति पाँचथरका उपप्रमुख डिल्लीराम दुलालका अनुसार विभिन्न किंबदन्तीमा कुनै भगवान्ले उक्त ढुङ्गा छेलो हानेको विश्वास गर्ने गरिएको छ ।

ढुङ्गालाई मानिसले गाईका अतिरिक्त अन्य आकृतिमा समेत देख्ने हुँदा यसलाई विशिष्ट धार्मिक गन्तव्य मान्ने गरिएको छ । मन्दिरको जीर्णोद्वार गरी प्रचारप्रसार गर्नसके धेरै सङ्ख्यामा पर्यटक भित्रने उपप्रमुख दुलालको भनाइ छ । निर्माणाधीन संरचना तथा अन्य आवश्यकीय संरचना निर्माणमा सबै तहले सहकार्य गर्नुपर्नेमा उपप्रमुख दुलालको जोड छ । यहाँ भ्यू–टावर निर्माणपछि पाँचथरका उत्तरी भेगसहित इलाम र ताप्लेजुङका धेरै स्थान तथा हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । रासस

Logo