कैलाली ।
कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेको तथ्यांकले देखाएको छ । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरुले बताएका छन् ।
मानव अधिकार सम्बन्धी ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने उनीहरुको भनाई छ । कोरोना भाइरसको महामारी पछि मानव अधिकार उल्लंघनका घटना बढको मानव अधिकारकर्मी चित्रा पनेरुले बताइन् । उनका अनुसार गत वर्षको चैत महिनामा लकडाउन शुरु भए यता कार्तिक मसान्तसम्म सुदूरपश्चिममा २ सय ७६ जनाले आत्महत्या गरेका छन् भने १ सय ६० बलात्कारका घटना भएका छन् । यस्तै ५८ बलात्कार प्रयास, १६ लैगिंक हिंसा र सबै भन्दा धेरै ५ सय २५ घरेलु हिंसाका घटना सार्वजनिक भएका छन् ।
त्यति मात्रै नभएर अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको समेत हनन् भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । कोरोनाले रोजगारीका अवसर गुम्दा खान र बाँच्न पाउने अधिकारको समेत हनन् भएको आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मोहनराज जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले सबैखाले विभेदको अन्त्य गरी मानव अधिकारलाई प्राथमिकतामा राखेकोले त्यसलाई कार्यान्वयन गरेर नागरिकलाई प्रत्याभूत गराउन सरकारसँगै सामाजिक अभियान्ता सबैको दायित्व भएको बताए । मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै संविधानमा उल्लेख भए अनुसार विधिको शासन कायम गर्न सके मानव अधिकारको सम्मान हुने उनको भनाइ छ ।
कोरोनाका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारी र कामदारले सुदूरपश्चिममा रोजगारी गुमाएका छन् । कोरोना कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा १५ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ । महामारीकै कारण बालविकासदेखि १२ कक्षासम्मका ७ लाख ९८ हजार ९ सय २५ विद्यार्थी पठनपाठनको अधिकारबाट बञ्चित भएका छन् ।





























प्रतिक्रिया