सिरहा । औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि दीपक मलिकको परिवार विस्थापित भएको छ ।
औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा गाउँपालिकाका अध्यक्ष यादवसहित सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो ।
त्यसपछि शिवजी यादवका छोराले धाकधम्की दिएपछि पीडित दिपक मल्लिकको परिवार विस्थापित भएको हो । अहिले उनीहरु औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिइरहेका छन् ।
यही चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दीपकको घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो ।
यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो ।
प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घट्नाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । हाल गाउँपालिकाका अध्यक्ष अनुसन्धानमा तानिएका हुन् । पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।





























प्रतिक्रिया