काठमाडौं । नेवार समुदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला गरिएको हो ।
दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । त्यसैले बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो । मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केहीले आज भाइटीका लगाउने भएका हुन । नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर विसं २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि पाँच वर्षसम्म पुनर्निर्माणका कारण बन्द रहेको थियो । तर अहिले पुनर्निर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुल्ला गरिएको हो । पाँच वर्षपछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणहरु खुशी देखिएका छन् । यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था पनि गरिएको छ ।










































प्रतिक्रिया