घुन्सा फाउण्डेसन र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

घुन्सा फाउण्डेसन र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राङगणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल प्रा.लि. र विपन्नका लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले रक्तदान गर्ने दाताहरुलाई प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरिन् । नेपालको भविष्य युवाहरूको काधमा रहेको र युवाहरू मानव सेवाका लागि रक्तदान कार्यक्रममार्फत् सामाजिक कार्यमा सक्रियताका साथ लाग्नु प्रशंसनीय रहेको उनको भनाइ थियो ।  

त्यस्तै कोभिड १९ का कारणले रक्तदानका कार्यक्रम नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएको र यस कार्यक्रमले थोरै भएपनि राहत प्रदान गर्ने घुन्सा फाउण्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन् । निःस्वार्थ भावनासहितको सामाजिक कार्यका लागि स्थापना गरिएको घुन्सा फाउण्डेसनले आगामी दिनहरु पनि सामाजिक कार्यमै व्यतित गर्ने बताउँदै सहयोगको आशा राख्ने हरकोहिलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष शेर्पाले जाहेर गरिन् ।  

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निस्कामभाव राखि स्वास्थ्य सेवामा सहकार्यका लागि नेपाल प्रहरी अस्पताल चयन गरेकोमा घुन्सा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे । त्यस्तै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुले आफूलाई प्रहरी अधिकारी भन्दा पनि चिकित्सकको रुपमा लिनुपर्ने बताए ।  

Logo