एक लाखकाे पुरस्कारबाट एउटै गाउँपालिकाका १२५ कृषक पुरस्कृत

एक लाखकाे पुरस्कारबाट एउटै गाउँपालिकाका १२५ कृषक पुरस्कृत


पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो । 

गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि–२०७६’ अनुसार मापदण्ड पुगेका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । गाउँपालिकाले ४० मुरी वा सोभन्दा बढी धान फलाउने तथा कम्तीमा २० फिट लम्बाइ र चार फिट चौडाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई उक्त पुरस्कार प्रदान गरेको हो । कृषक प्रोत्साहन कार्यविधिअनुसार यतिका कृषि उपज एकै परिवारले उत्पादन गर्नुपर्ने व्यवस्था थियो । कृषि उपज उत्पादनको मात्रा वृद्धि गर्न गाउँपालिकाले तय गरेको नीतिअनुसार पुरस्कार दाबी गर्नेमध्ये १२५ जनाले मापदण्ड पूरा गरेपछि नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिए । 

पुरस्कृतमध्ये ५९ मकै उत्पादक कृषक छन् भने ६६ धान उत्पादक कृषक छन् । सबैभन्दा बढी मिक्लाजुङको वडा नं ८ का २७ कृषकले तोकिएको मात्रामा मकै उत्पादन गरेका छन् ।

कोभिड–१९ सङ्क्रमणको महामारी र बन्दाबन्दीसँगै कृषकलाई कृषि उपज उत्पादनमा प्रोत्साहित गर्न गाउँपालिकाले मापदण्ड तय गरी पुरस्कार दिने नीति लिएको थियो । गत वैशाख अन्तिम साता बसेको गाउँ कार्यपालिकाको बैठकले मापदण्ड पूरा गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेपछि कृषकहरू परम्परागत बालीका रूपमा रहेका धान र मकैको उत्पादन वृद्धिमा जुटेका थिए ।

Logo