काठमाडौँको बालाजु बाइपासमा सुचना केन्द्र निर्माण हुने भएको छ ।
काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाखको रुपैयाँ लागतमा सुविधासम्पन्न सुचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । सुचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्ने राज्यमन्त्री मानन्धरले बताए । काठमाडौँबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौँबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको पनि राज्यमन्त्री मानन्धरको भनाइ छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधासहितको सूचना केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिइएको हो’, उनले भने ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लागत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताए । यस्तै सूचना केन्द्रमा उपत्यका र काठमाडौँ महानगरसम्बन्धि आवश्यक सबै सुचना उपलब्ध गराइने पनि उनको जिकिर छ । जसबाट महानगरबासी र पर्यटक समेतले फाइदा लिन सक्नेछन् । मेयर शाक्यले सार्वजनिक सुचना केन्द्रसँगै आधुनिक शौचालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय पनि सोही भवनमा रहने जानकारी दिए ।
सुचना केन्द्रको निर्माण कार्य उपभोक्ता समितिमार्फत भइरहेको छ । महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोर्ने गरी कुल १ करोड ६ लाख २० हजार रुपैयाँमा सूचना केन्द्रको निर्माण हुनेछ ।





























प्रतिक्रिया