अक्सिजन अभाव हुँदैन, मौज्दातले दुई महिना धान्छ

अक्सिजन अभाव हुँदैन, मौज्दातले दुई महिना धान्छ

केन्द्रबिन्दु
0
Shares

मुलुकमा मौज्दात अक्सिजनले अझै दुई महिनासम्म पुग्ने आपूर्तिकर्ताले जनाएका छन्। बजारमा अक्सिजन अभावको हल्ला चलिरहेका बेला अहिले नै अक्सिजन अभाव नहुने उनीहरूको भनाइ छ।

रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले पछिल्ला केही दिनदेखि अक्सिजनको खबर आउन थालेको बताउँदै यो कुरा सही नभएको जानकारी दिए।

सामाजिक सञ्जालदेखि सञ्चारमाध्यम आएजस्तो नेपालको अक्सिजन भारतमा निर्यात भएको भन्ने तथ्य वास्तविक नभएको उनको धारणा छ। 

‘अक्सिजन मापन गर्ने केही पोर्टेवल डिभाइस भारत पठाइएको हो, अक्सिजन त्यसरी लैजान सकिँदैन,’ उनले थपे।   

त्यसो त भारतमा कोभिड–१९ संक्रमितको उपचारका लागि मेडिकल अक्सिजनको अभाव देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भारतका अधिकांश प्रान्तमा अक्सिजन अभाव भइरहेको खबर सम्प्रेषण गरिरहेका छन्। 

भारतमै यसको अभाव खड्किएसँगै यसकै प्रत्यक्ष र परोक्ष असर नेपालमा पनि देखिने आँकलन रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेको भनाइ छ। तर, नेपालमा अक्सिजनको अभाव हुन नदिन संघ तथा व्यवसायी लागेको उनको भनाइ छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुनै पनि अबस्थामा अक्सिजनको माग पुरा गर्न मन्त्रालय तत्पर रहेको बताए। ‘भारतमा अभाव भएको होला, यसको मतलव नेपालमा पनि अभाव हुन्छ भन्ने होइन। हाम्रो उत्पादन छ, निजी क्षेत्रले पनि उत्पादन गरिरहेको छ,’ उचनले भने। त्यस हिसाबले अहिले नै अक्सिजन अभाव हुने भन्ने कुरामा सत्यता नरहेको उनको दाबी छ।

धेरैजसो ठूला अस्पतालमा अक्सिजन प्लान्ट छ। उद्योगले पनि अक्सिजन उत्पादन गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयका पूर्व विज्ञ सल्लाहकार डा. खेम कार्की सरकारले अक्सिजनको अभाव हुन दिन नहुने तर्क गर्छन्। ‘संक्रमितको संख्या थामि नसक्ने गरी बढ्यो र अस्पतालले बिरामीको चाप धान्न नसक्ने भयो भने मात्र अक्सिजनको अभाव होला,’ उनी भन्छन्।

अहिले अक्सिजनको उपलब्धता सहज रहँदा अझै यसको उत्पादनमा जोड दिनुपर्ने उनको सुझाव छ। अक्सिजनको अभाव हुने भन्दै मानिसले अनावश्यक जोहो गर्न थाल्नुका साथै चुहावट हुन थालेकाले समस्या देखिन सक्ने भएकाले त्यसो नगर्न आग्रह गरे। 

भारतमा संक्रमितको संख्या बढ्दा त्यसको प्रभाव नेपालमा पनि देखिएको र नेपालमा उपचारका क्रममा बिरामीले अक्सिजन नपाउने हुन् कि भन्ने चिन्ता बढेको देखिन्छ।

यस्तो चिन्तामाझ बजारमा मेडिकल अक्सिजनको माग बढेको व्यवसायी बताउँछन्। अक्सिजन उद्योगी शिवप्रसाद घिमिरेले भारतमा अक्सिजन अभाव छ भनेपछि यहाँ दबाब बढेको जनाए।
 
‘हामी आत्तिनुपर्ने अवस्था छैन। कतिपय अस्पतालले माग नभएका कारण खर्चिलो अक्सिजन प्लान्ट चलाएका थिएनन् भने सिलिन्डरमा उपलब्ध गराउने उद्योग पनि यसअघि  ४० प्रतिशत सञ्चालनमा थिएनन्,’ उनले भने।
 
अस्पतालले पनि अक्सिजन प्लान्ट चलाउने र उद्योग पनि पूर्ण रूपमा सञ्चालनमा आएपछि अक्सिजनको अभाव नहुने उनको भनाइ छ। 

Logo