मानिसले काम गर्दा मुख्य दुई पक्षलाई प्राथमिकता दिइएको हुन्छ । पहिलो व्यक्तिको भौतिक सुरक्षा, दोस्रो स्वास्थ्य सुरक्षा । सामान्यदेखि जोखिमयुक्त काममा व्यक्तिगत सुरक्षा र स्वास्थ्य सावधानीलाई महत्वको साथ हेरिनुपर्छ तर यसको वेवास्ता गर्ने क्रम बढिरहेको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पहलमा हरेक वर्ष २८ अप्रिलमा काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाउने गरिन्छ । ठूला औद्योगिक राष्ट्रहरुसँगै विकासको दौडमा लागेका राष्ट्रहरुले कामदार, मजदूरको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन सकुन् भनेर यो दिवश मनाउने गरिन्छ।
विकासको दौडमा लागेका मुलुकका मजदूरहरुले काम गर्ने वातावरण अझै जोखिमयुक्त छन् भनेर श्रम सङ्गठनको प्रतिवेदनहरुले देखाएका छन् । कामदार, श्रमिकको सुरक्षा र स्वास्थ्यमा भएको लापरबाहीले हजारौ मरिरहेका छन्। हाम्रो देशमा पनि कामदारको रुपमा खाडी मुलुक गएका श्रमिकका शव बाकसमा फर्किरहेका छन्।
एक अनौपचारिक सर्वेक्षणका अनुसार विश्वमा प्रतिदिन ६ हजार ३ सय श्रमिकको मृत्यु काममा हुने जोखिमले निम्त्याएको कारणले हुने गरेको छ। अहिले विश्व कोरोना महामारीसँग जुधिरहेको छ। यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रमा रहेका चिकित्सक, नर्स, स्वास्थ्य सहायक जोखिममा रहेका छन्। पर्याप्त सुरक्षा सामग्रीको अभावमा सबै जोखिममा रहेका छन्।
सँगै सुरक्षा क्षेत्रमा खटिने कर्मचारीहरु पनि उत्तिकै जोखिममा रहेका छन्। यसले थपेको अर्को चुनौती सेवा क्षेत्रका कर्मचारीमाथि हो। बैंक तथा वित्तिय संस्था, सार्वजनिक यातायात, दुरसञ्चार र होटल, पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गरेको छ। कोरोना संक्रमणको जोखिम बढेसँगै कार्यस्थलमा खटिने कामदार श्रमिकको सुरक्षा र स्वास्थ्य सावधानी प्राथमिकतामा नपर्ने जोखिम पनि बढेको छ।





























प्रतिक्रिया