कोभिड–१९ को नयाँ भेरियन्टका कारण मृत्युदर बढेको हुनाले पशुपति आर्यघाटमा शव व्यवस्थापनमा चुनौती थपिएको छ।
त्यसो त शव व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको भएपनि बढ्दो शवको चापका कारण शव व्यवस्थापन गर्न चुनौती हुँदै गएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो।
त्यसमाथि पनि विद्युतीय शवदाह गृहले धेरै भार नथाम्ने हुँदा बढ्दो शवको संख्या व्यवस्थापन गर्न कठिनाई भएको पशुपति क्षेत्रविकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।
ढकाल भन्छन्, विद्युतको सहायताले दिनको १५ देखि २० बटा मात्र शव व्यवस्थापन गर्न सकिन्छ, पछिल्लो समय कोभिडका कारण उपत्यकामा मृत्यु भएका सबै शव पशुपति क्षेत्रमै आउने हुँदा भार बढेको हो। अहिले दैनिक सरदर ९० को हाराहारीमा शव आइरहेको छ। बाँकी शवहरुलाई शवदाह गृहको वरिपरी दाउराबाट व्यवस्थापन गर्ने काम भइरहेको छ।
पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरका कारण मृत्युदर बढिरहेको छ। जुसका कारण शव व्यवस्थापन गर्न निकै चट्कारो बनिरहेको छ। गएको आइतबारदेखि यताको तथ्यांक केलाउने हो भने पनि पशुपति आर्यघाटमा शवहरुको भिड लागेको सहजै बुझ्न सकिन्छ।
आइतबार मात्रै ७६ बटा शव आर्यघाटमा जम्मा भएका थिए, त्यस्तै सोमबार ८३ बटा शव, मंगलबार सबैभन्दा बढी एक सय १० बटा शव जम्मा भएका थिए भने बुधबार मात्रै ८३ शव जम्मा भएको तथ्यांक क्षेत्र विकाससँग छ।
ती मध्ये १५ बटा शव मात्रै विद्युतीय शवदाह गृहको सहायताले अन्त्येष्टि गर्ने गरिएको छ। बाँकी शवहरु व्यवस्थापन गर्न चुनौति नै छ, सचिव ढकालले भने।
हामीले क्षेत्र विकास कोषका सचिव प्रदीप ढकाललाई फेरि सोध्यौं, अरुबेला सामान्य अवस्थामा आउने शवहरुसहितको तथ्यांक हो यो भनेर । उनले यो कोभिडबाट मृत्यु हुनेको संख्या मात्रै भएको जानकारी दिए । अरुबेला दैनिक अन्त्येष्टि हुने ठाउँमा अहिले शवहरुको व्यवस्थापन भएका छैनन् । उता पनि दैनिक सरदर ३० देखि ३५ को हाराहारीमा शव व्यवस्थापन भइरहेको छ। माथिको तथ्यांक चाहिँ कोभिड–१९ संक्रमित भएर मृत्यु हुनेहरुको मात्रै हो।





























प्रतिक्रिया