कोभिड संक्रमण नियन्त्रणमा कर्मचारी परिचालन

कोभिड संक्रमण नियन्त्रणमा कर्मचारी परिचालन

केन्द्रबिन्दु
0
Shares

मोरङकाे लेटाङ नगरपालिका, वडा नम्बर २ को कार्यालयले शिक्षक र सहकारीका कर्मचारीलाई स्वयंसेवकको रुपमा कोरोना नियन्त्रणमा परिचालन गरेको छ।

विश्व महामारीको रुपमा रहेको कोभिड १९ को संक्रमणलाई वडा क्षेत्रमा भयावय रुप लिएपछि समग्र पालिकालाई जोगाउन वडा सीमा नाकामा स्वयंसेवक परिचालन गरिएको लेटाङ नगरपालिका वडा नम्बर २ को कार्यालयले जनाएको छ।

आइतबार वडा कार्यालयमा विज्ञ तथा सरोकारवालाहरुको बैठकले वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सहकारी संस्थाका कर्मचारीहरुलाई सोमबारबाट स्वयंसेवकको रुपमा परिचालन गर्ने निर्णय अनुसार सो काम गरिएको २ नम्बर वडाका अध्यक्ष तेजप्रसाद तिम्सिनाले केन्द्रबिन्दुलाई बताए।

संक्रमण दरलाई रोक्न जिल्ला प्रशासन कार्यालय मोरङ तथा लेटाङ नगरपालिकाले गरेको निषेधाज्ञालाई पूर्णरुपमा कार्यान्वयन गर्न वडा सिललाई पुनः जेठ ११ गतेसम्म लम्ब्याउने र त्यसलाई व्यबस्थित तथा कडा बनाउनका लागि कर्मचारी परिचालन गरिएको तिम्सिनाले बताए।

त्यसो त,अघिसम्म वडामा रहेको बुधबारे अस्थायी प्रहरी चौकी र जनप्रतिनिधिहरुको सिमित जनशक्तिबाट २ वटा नाकाहरुमा ड्युटी गरि वडा सिल गर्ने र अति आवश्यक काम बाहेक हिडडुल गर्न निषेध गरिएको थियो। तर, संक्रमणको ग्राफ अन्य वडाको तुलनामा तीब्र बनेको हुँदा थप दुईस्थानमा प्रहरी र स्वयंसेवक परिचालन गरि सिललाई ब्यबस्थापन गर्न लागिएको वडा सदस्य मेनुका सुवेदीले जानकारी दिइन्।

वडामा हालसम्म ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अबस्थामा थप संक्रमण वृद्धि नहोस् भनेर वडालाई पूर्णरुपमा सिल गरिएको र सरकारी विद्यालय तथा सहकारीका कर्मचारीहरुले स्वतस्फुर्त कोरोना नियन्त्रणका लागि स्वयंसेवा गर्न सक्रिय भएर लागेका लक्ष्मी मावि फडानीका प्रधानाध्यापक राजेन्द्र खतिवडाले जानकारी दिए।

हाल लक्ष्मी मावि र हिमचुली प्राविका शिक्षक र जनचाहना साकोसका कर्मचारीले स्थानिय प्रहरीलाई सहयोग गरिरहेका छन्।

निषेधाज्ञाको पूर्ण पालना गराउन र स्वयंसेवकहरुले नाकामा ड्युटीसँगै गाउँबस्तीमा कोभिड संक्रमण मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको विवरणसमेत वडा कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखामा बुझाउने गरि स्वयंसेवक परिचालित भएको नगर स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरीले बताए। उनका अनुसार सोहि विवरणका आधारमा कोभिड परीक्षणको प्रबन्ध मिलाइनेछ।

वडा कार्यालयका अनुसार ३५ जनाभन्दा बढी कर्मचारीहरुले आफ्नो पालोमा (बिहान ५ बजेबाट साँझ ६ बजेसम्म) जेठ ११ गतेसम्म ४ वटा नाकाहरुमा स्वयंसेवकको रुपमा प्रहरीलाई सहयोग गर्नेछन् । 

सो को लागि वडा कार्यालयबाट स्वास्थ्य सामाग्री, परिचय पत्र र दिवा खाजाको ब्यवस्थापन गर्ने ब्यबस्था मिलाइएको छ।

वडा सिलको क्रममा अति आवश्यक कामबाहेक सडकमा हिड्डुल गरे प्रहरीले जरिवाना गर्ने ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख रोमन अर्यालले बताए। अर्यालले निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सबैसँग अनुरोध गरेका छन्।

हालसम्म सबैभन्दा बढी संक्रमित वडा नम्बर दुईमा नै रहेको छ। विवाह र भोजभतेरले संक्रमण बढेको अनुमान वडाले गरेको छ। हालसम्म समग्र नगरपालिकामा भने ७७ सक्रिय संक्रमित रहेका छन्। कुल ८३ मध्ये ६ जना निको भएर घर फर्केका छन्। संक्रमित मध्ये केहि नगरपालिकाले तयार पारेको अस्थायी आईसोलेसनमा छन् भने केहि घरैमा र केहि अस्पतालमा रहेका छन्।

Logo