महामारीविरुद्धको अभियान सबैको हो, आपसी सहकार्यबाट यसलाई नियन्त्रण गरौँ- मेयर शाक्य

महामारीविरुद्धको अभियान सबैको हो, आपसी सहकार्यबाट यसलाई नियन्त्रण गरौँ- मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले बिहीबार छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गरेका हुन्। 

यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । बिहीबार हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ। 

उपकरण हस्तान्तरण गरिसकेपछिको प्रतिक्रियामा प्रमुख शाक्यले, अहिले कोभिड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताए । जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिनेमा महानगर केन्द्रीत छ । प्रमुख शाक्यले भने, ‘कोभिड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेको छ । यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । हाम्रा सहकार्यमा रहेका अस्पतालहरुले यसलाई मनन गर्नुहुनेछ।’

कोभिड संक्रमणमा परेका विरामीको व्यवस्थापनका लागि महानगरका प्रयासका बारेमा कुरा गर्दै उनले भने, ‘महानगरका माताहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी हुनुहुन्छ । बाँकी खाली नै छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुनेछ।’
 
महामारीमा आफू बाँच्न जति कठिन छ । अरुलाई बचाउन उति नै कठिन छ । यसका लागि मानवीय र भौतिक स्रोतको समान परिचालन आवश्यक पर्ने रहेछ । त्यस अवसरमा वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले भने, महामारी नियन्त्रण गर्न अहिलेको महामारी नियन्त्रण गर्न प्रभावकारी प्रतिकार्य गर्नुपर्छ र सिकाईबाट भावी पुस्तालाई उपयोग हुने संयन्त्र तयार पार्नुपर्छ।

अस्पतालमा अहिले कोभिड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचार गराइरहेका छन् । महानगरको कोभिड अस्पतालका बारेमा जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भने, ‘कोभिड उपचारका लागि नर्सिङ स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ।’

Logo