काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ। आज काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो।
वैशाख १६ बाट जारी निषेधाज्ञा अब असार ७ गतेसम्म थपिएको छ । यसअघि जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि कायम गरिएको थियो ।
अब थपिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको छ । यस अघि बिहान ९ बजेसम्म खुल्ने पसलहरु अब ११ बजेसम्म खुल्न पाउने भएका छन् ।
पछिल्लो समय देशभरि नै संक्रमणदरमा कमी आउन थालेकाले विस्तारै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने व्यवसायीहरुले बताउँदै आएका थिए। यता स्वास्थ्यक्षेत्रका विज्ञहरुले भने केही हप्ता अझै निषेधाज्ञा जारी राख्नु पर्ने बताउँदै आएका छन्।
यसपटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विगतमा पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अबे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
कृषि कार्यका लागि भने सहजीकरण गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा उल्लेख छ । यस्तै अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रुपमा कामदार राखेर सञ्चालन गर्न सकिनेछ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ। शैक्षिक संस्थाहरुले अनलाइनमार्फत पठनपाठन गराउन सक्नेछन्।
नेपाल राष्ट्र बैँकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सिमित कार्यालय मात्रै खोल्न पाइने थियो । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइनेछ।
यसैगरी अन्य भिडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी कुरामा यसअघिको आदेशमा उल्लेख भए अनुसार हुने जनाइएको छ । अत्यावश्यक र पासबाहक बाहेकका सवारीसाधन असार ७ गते राति १२ बजेसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । उक्त निर्णय सोमबार राति १२ बजेदेखि लागू हुनेछ। अत्यावश्यक काममा बाहेक मानिस हिँडडुल गर्न पाउने छैनन्।
हाल देशका ७५ जिल्लामा आंशिक वा पूर्ण निषेधाज्ञा जारी रहेको छ।





























प्रतिक्रिया