काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।
यस अघि काठमाडौं उपत्यकामा असार ७ गतेसम्म थपिएको निषेधाज्ञा भोलि सकिंदैछ। गत आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा असार १ गतेदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो। यसपटकको निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ।
अत्यावश्यक बाहेकका सार्वजनिक तथा नीजि सवारी साधनलाई भने असार ७ गतेसम्मै सञ्चालनमा रोक लगाइएको थियो। यद्यपी औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाधरुपमा सञ्चालन भइरहेका छन्। तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइएको थियो।
त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइएको छ। विकास निर्माणजन्य सामग्रीका पसलहरु छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालनमा र ठूलो परिमाणको ढुवानी राति गर्न दिइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
यस्तै अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ।
अब हुने लकडाउनको मोडालिटी केही परिवर्तन हुने पनि जनाइएको छ । आर्थिक क्षेत्र चलायमान हुने गरि केही खुकुलो बनाएर कम्तीमा पनि एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भएको बताइएको छ ।
यस अघि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी छ । पटक पटक थप गरिएको भएपनि अब खुकुलो बनाउनु पर्ने माग गरिएको छ । कोरोना संक्रमणदर केही घटेका कारण अब निषेधाज्ञा पनि खुकुलो बनाउनु पर्ने व्यवसायीहरुको माग छ । हाल देशका विभिन्न ७५ जिल्लामा आंशिक तथा पूर्णरुपमा निषेधाज्ञा जारी छ।





























प्रतिक्रिया