सोलुखुम्बु ।
सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर) ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको सङ्ख्या निर्धारण गरेको छ ।
बैठकको निर्णय अनुसार प्रथम चरणको यस कार्यक्रम अन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन् । यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं २ मा भने यस अघिनै जस्तापाताको छानो रहेको गाउँपालिकाले जनाएको छ ।
बैठकमा सङ्घीय सांसद राईले गरिबीको रेखामुनि रहेका र छानो फेर्न नसक्ने विपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताए। सोलुखुम्बुको लागि बढी सङ्ख्यामा माग गरिएको भए पनि पहिलो चरणमा एक हजार २८९ घरधुरीका लागि बजेट प्राप्त भएको उनको भनाइ छ । जसको कार्यान्वयन स्थानीय सरकारले नै बताइएको छ ।
त्यसैगरी बैठकमा जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख वीरकुमार राईले खर, काठ वा ढुङ्गाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताए । सोलुखुम्बुमा सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत सबै जस्तापाता हरियो घाँसे रङको प्रयोग गरिने भएको छ । वातावरणमैत्री र प्रभावकारीरुपमा कार्यक्रम सञ्चालनका लागि हरियो (घाँसे) रङको जस्तापाता प्रयोग गर्ने निर्णय गरेको सांसद राईले बताए।रासस





























प्रतिक्रिया